काठमाडौं। नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत सन् २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा आयोजना हुँदै आएको मासिक कथावाचन कार्यक्रमको तेइसौं शृङ्खला सम्पन्न भएको छ।
कार्यक्रमको सुरुवात पुनर्जागरण अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै अभियानका उद्देश्यबारे प्रकाश पार्नुभएकाे थियाे। कथा विधाप्रति आम पाठकको रुचि जगाउने, यस विधाको कालखण्डगत विकासबारे चिन्तन, छलफल र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अभियान सुरु गरिएको उहाँले स्पष्ट पार्नुभयाे । साथै, शारदा, गोर्खा संसारजस्ता ऐतिहासिक पत्रिकामा प्रकाशित दुर्लभ कथाहरू खोजी गरी वाचन गरिँदै आएको र ती कथाहरूलाई पुस्तकका रूपमा प्रकाशन गर्न प्रकाशकको खोजी भइरहेको जानकारी पनि उहाँले दिनुभयाे ।
हरेक महिना दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गर्ने परम्परा अनुसार यसपटक भीमनिधि तिवारीको कथा ‘चखेवा चखेवी’ वाचन गरिएको थियो। उक्त कथा विसं १९९२ भाद्रमा प्रकाशित ऐतिहासिक पत्रिका शारदा बाट लिइएको हो, जसको वाचन साहित्यकार समिना खनाल पृथाले गर्नुभएकाे थियाे ।
कार्यक्रममा २०४० देखि २०७० को दशकबीच प्रकाशित चारवटा कथा चार प्रतिष्ठित स्रष्टाहरूले वाचन गर्नुभएकाे थियाे । निर्माेही व्यासले २०४० को दशकमा प्रकाशित ‘स्वयम्भूका आँखाहरू’ शीर्षकको कथा वाचन गर्नुभयाे । इन्दिरा प्रसाईले आफ्नो चर्चित कथा ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ वाचन गर्नुभयाे । बाबा न्यौपानेले २०६० मा मधुपर्क मासिकको यौनकथा अङ्कमा प्रकाशित ‘रतेली’ वाचन गर्नुभयाे। मानसीले २०७६ सालको बाह्रखरी उत्कृष्ट कथासङ्ग्रहमा समावेश ‘चन्द्रिका’ शीर्षकको कथा वाचन गर्नुभयाे ।
कथावाचनपछि समीक्षक प्रा. डा. भरतकुमार भट्टराईले प्रसाई र न्यौपानेका कथामाथि संक्षिप्त समालोचना गर्दै प्रसाईको कथा बौद्धिक प्रयोगवादी भएको र न्यौपानेको कथामा यौन विश्लेषण गौरवयोग्य रहेको टिप्पणी गर्नुभयाे । प्रमोद प्रधानले व्यास र मानसीका कथामाथि टिप्पणी गर्दै व्यासको कथाले तत्कालीन समाजको गहिरो चित्रण गरेको र मानसीको कथाले मनोविश्लेषणात्मक कथाको परम्परालाई प्रतिनिधित्व गरेको बताउनुभयाे ।
कार्यक्रमको अन्त्यमा अर्का परिकल्पनाकार पुष्कर लोहनीले पत्रकारिता, साहित्यसिर्जना र प्राध्यापनको अनुभव सुनाउँदै कथा साहित्यप्रतिको जनचासो बढ्दो रहेकोमा सन्तोष व्यक्त गर्नुभयाे । उहाँले दौलत विक्रम बिष्टको ‘एक साँझ’ कथा छापेको कारण जेल जानुपरेको घटना पनि स्मरण गर्नुभयाे ।
कार्यक्रम उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गर्नुभएकाे थियाे। साहित्यकार, कथाकार, समालोचक तथा पाठकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम पुष्कर लोहनीको डिल्लीबजार, घट्टेकुलोस्थित निवासमा सम्पन्न भएको हो। आयोजकले २०७० को दशकमा प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक स्रष्टाहरूलाई अग्रिम नाम दर्ता गरी आगामी कार्यक्रमहरूमा सहभागी हुन आह्वान गरेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




