काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकका तीन कृतिहरू—लघुकथासङ्ग्रह ‘तेल भिसा’, कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ तथा पाठककै सम्पादनमा प्रकाशित ‘सर्जक गणेश रसिक स्मृति अङ्क’ (नारीस्वर) को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
साहित्यिक पत्रकार संघको आयोजनामा अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा प्रा. डा. गोविन्दमानसिंह कार्की, उप–प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र कवि शैलेन्द्र साकारले कृतिहरूमाथि समीक्षा तथा टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा मञ्चमा आसिन अतिथिहरूबाट तीनै कृतिको औपचारिक लोकार्पण गरिएको थियो। प्रमुख अतिथि उप्रेतीले पाठकको आठ दशकको उमेरमा समेत निरन्तर साहित्य सृजना गरिरहनु उल्लेखनीय भएको बताउँदै उहाँको बहुआयामिक प्रतिभाको प्रशंसा गर्नुभएकाे थियाे । साथै, उहाँले पाठकका साहित्यिक उपलब्धिमा सुपुत्री पत्रकार नम्रता शर्माको योगदान उल्लेखनीय रहेको पनि बताउनुभयाे ।
कविता र कथाहरूको परिचर्चा सत्रमा प्रा. डा. कार्कीले ‘तेल भिसा’ का लघुकथाहरू समसामयिक यथार्थ, सामाजिक विकृति–विसङ्गति र मनोवैज्ञानिक गहिराइ प्रकट गर्ने खालका रहेको बताउनुभयाे । उहाँले प्रवास, पारिवारिक सम्बन्ध, महिला अधिकार, तथा सामाजिक यथार्थका संवेदनशील प्रसङ्गहरू समेटिएका कथाहरू विशेष प्रभावकारी रहेको टिप्पणी गर्नुभयाे ।
उप–प्राध्यापक ज्ञवालीले कवितासङ्ग्रह ‘सम्बन्धको चुकुल’ बारे टिप्पणी गर्दै पाठकका कवितामा राष्ट्र, पारिवारिक सम्बन्ध, प्रेम र समयजस्ता सान्दर्भिक विषयवस्तुहरू सरल तर गहिरो शैलीमा अभिव्यक्त भएको बताउनुभयाे। कवि शैलेन्द्र साकारले गणेश रसिकसँगको व्यक्तिगत र कलात्मक सम्बन्ध स्मरण गर्दै उहाँको योगदान र पाठकसँगको सहयात्रालाई भावुकतापूर्वक व्यक्त गर्नुभयाे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेले शुभकामना मन्तव्य दिंदै पाठकका कवितालाई “मैदानमा बग्ने स्वच्छ नदी” सँग तुलना गर्दै तिनलाई विवादरहित र सरल शैलीका उदाहरणीय सिर्जना भएकाे बताउनुभयाे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीले स्वागत मन्तव्यका क्रममा हालको राजनीतिक तथा सामाजिक सन्दर्भमा साहित्यिक क्रियाकलापलाई सृजनात्मक पुनर्निर्माणतर्फ मोड्नु आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, साथै अनेक साहित्यकार, कवि र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि यादव भट्टराईले गर्नुभएकाे थियाे भने अन्त्यमा सुपुत्री नम्रता शर्माले धन्यवाद ज्ञापन गर्दै आमाको साहित्यिक यात्राबारे संक्षिप्त टिप्पणी गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 




