काठमाडौँ । बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको कथा प्रतियोगिताको नयाँ संस्करण ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा गरेको छ। नक्सालस्थित होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता घोषणा गर्दै बाह्रखरीले नयाँ कथाको आह्वान गरेको हो।

यस वर्ष अघिल्ला संस्करणहरूभन्दा पुरस्कार राशिमा वृद्धि गरिएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी, संग्रहमा समावेश गरिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ। बाह्रखरी मिडियाका अनुसार यो नेपालकै कथा लेखन प्रतियोगितामध्ये सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आगामी कात्तिक ३० गतेसम्म आफ्नो कथा 12Kharibooks@gmail.com मा पठाउनुपर्नेछ। निर्णायक मण्डलमा रंगकर्मी अशेष मल्ल प्रमुख निर्णायक रहँदा, सदस्यहरूमा कथाकार श्री मञ्जु काँचुली र अभय श्रेष्ठ रहनुहुने छ ।

प्रतियोगिताबाट चयन गरिएका उत्कृष्ट २५ कथा ‘उत्कृष्ट कथा, २०८२’ नामक संग्रहमा प्रकाशित गरिनेछ।