फ्रान्कफर्ट, जर्मनी । विश्वप्रसिद्ध फ्रान्कफर्ट पुस्तक मेला (Frankfurt Book Fair) मा यस वर्ष नेपाली साहित्यको उल्लेखनीय उपस्थिति देखिएको छ। अक्टोबर १५ देखि १९ सम्म चल्ने मेलामा नेपाली लेखक सागर फुयाल र रमण जैसेरीले आफ्नो साहित्यिक यात्रा र कृतिहरू प्रस्तुत गर्दै सहभागिता जनाउनुभएकाे छ ।

कवि तथा गीतकार सागर फुयालका ‘अञ्जुलीमा थाप्न पाए’ र ‘आफैलाई खोज्न मन छ’ प्रकाशित कृतिहरू हुन् भने तेस्रो कृति चाँडै प्रकाशन हुने जानकारी उहाँले कार्यक्रममा दिनुभएकाे थियाे । फुयालले आफ्ना करिब आधा दर्जन गीतहरू स्वरबद्ध भइसकेको बताउँदै लोकप्रिय गायक शिव परियारले गाएको र अभिनेत्री मीरुना मगर अभिनित गीत ‘तिमी हौ सबथोक मेरो’ ले ५ लाखभन्दा बढी दर्शक पाएको उल्लेख गर्नुभयाे ।

त्यसैगरी, लेखक रमण जैसेरीले आफ्नो कथा संग्रह ‘कथा हुन् कथा हैनन्’ का कथांशहरू वाचन गर्दै जर्मनीमा बसोबास गर्ने आप्रवासी नेपालीहरूले भोग्ने साझा समस्या र अनुभवहरू कथामा कसरी समेटिएको छ भन्नेबारे चर्चा गर्नुभयाे । अंग्रेजी र जर्मन भाषामा लेख्न सक्ने क्षमता हुँदाहुँदै पनि नेपालीमा लेख्न छनोट गरेको कारणबारे उहाँले “नेपाली भाषामा लेख्दा म आफैंलाई स्पष्ट र आत्मीय रूपमा पोख्न सक्छु” भन्नुभयाे।

कार्यक्रम प्रवासी सल्लाहकार परिषद केल्कहाइमकी सदस्य हरप्रित कौरको सञ्चालनमा र परिषद फ्रान्कफर्टकी उप–सभापति डा. आड्रियाना माक्सिमो दोस सान्तोसको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा दुबै लेखकहरूले आफ्ना प्रकाशित रचनाहरूबारे चर्चा गर्नुका साथै नेपाली र अंग्रेजी भाषामा अंश वाचनसमेत गर्नुभएकाे थियाे ।

हरेक वर्ष २ लाखभन्दा बढी पुस्तकप्रेमी र प्रकाशकहरूको सहभागिता हुने यस मेलामा नेपाली लेखकहरूको उपस्थिति विरलै देखिने गरेको छ। यस वर्षको सहभागिता नेपाली समाज (Nepali Samaj) नामक गैर–नाफामूलक संस्थाका संस्थापक शिव अधिकारीको समन्वयमा सम्भव भएको हो। अधिकारीले पछिल्ला २० वर्षदेखि प्रवासी समुदायमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आउनुभएकाे छ ।