ब्रह्ममुहुर्त –गोविन्दकुमार श्रेष्ठ

लेखक गोविन्दकुमार श्रेष्ठको आत्मसंस्मरण हो ‘ब्रह्ममुहुर्त’ । लेखकले पुस्तकमा आफ्नो जीवनको उतारचढावलाई सरल तरिकाले लेख्नुभएको छ ।
”आफूले सम्झेका, जानेका, बुझेका र भोगेका केही संस्मरण लिपिबद्ध गर्ने मनसायले लेख्न बसें ।”  पुस्तकमा गोविन्दकुमार श्रेष्ठ लेख्नुहुन्छ, ”तर के लेख्ने ? कसरी लेख्ने ? कहाँबाट सुरु गर्ने भन्ने जस्ता प्रश्नले निकै घोत्लिनु पर्यो। वास्तवमा आफ्ना बारेमा वा आफ्ना कुराका बारेमा लेख्ने काम त्यति सजिलो होइन । जसले जे भने पनि आफ्ना कमीकमजोरी सार्वजनिक नहोओस् तर राम्रा कुरा भने बाहिर आओस् वा सबैले थाहा पाऊन् भन्ने जोसुकैको पनि भित्री चाहना हुन्छ नै। यसलाई मानवीय कमजोरी, मानवीय स्वभाव वा मानवसुलभ गुण जे भने पनि यो यथार्थ हो, सत्य हो । यस्ता कमीकमजोरीलाई सकेसम्म न्यूनीकरण गरेर आफ्ना अनुभव, अनुभूति, भोगाइ, देखाइ र सुनाइ पस्कने जमर्को गरेको छु, जसले गर्दा मेरा जीवनचक्रसँग सम्बन्धित विभिन्न आयाम जोडिन पुगेका छन् । जीवन यात्राको क्रममा ठोक्किन पुगेका सप्ठ्यारा र अप्ठ्यारा परिवेश समेटिन पुगेका छन् । आफ्नो उचाइ पुष्टि गर्न अरूलाई होचो देखाउने प्रयास गरिएको छैन तथापि आफूले अनुभूत गरेका कुनै पीडादायी प्रसङ्ग उल्लेख गर्ने क्रममा अभिव्यक्त भएका कुनै शब्द वा वाक्यांशले कोही कसैको मन दुख्न पुगेमा क्षमायाचना गर्दछु । केही समय राजनीतिक क्षेत्रमा बरालिएर र केही समय अध्ययन, अनुसन्धान तथा प्राध्यापन क्षेत्रमा बिताएर पछिल्लो कालखण्डमा करिब ३४ ९चौतिस० वर्ष न्यायपालिकामा रहेर सेवा गर्दा अधिकांश समय न्यायिक कामकारबाहीमा नै व्यतित भयो । न्याय प्रशासनसम्बन्धी काममा थोरै समय मात्र संलग्न रहियो । न्याय सम्पादन गर्दा अनुभूति गरिएका केही सन्दर्भ सम्झना समेट्ने प्रयास गरेको छु । न्यायपालिका र विधिको शासनसँग सम्बन्धित समकालीन केही गन्धन पनि पस्कने जमर्को गरेको छु।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको हो । दुई सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय ५० रुपियाँ रहेको छ ।