धनगढी । कवि हेमन्त शिशिरको कविता संग्रह ‘बन्द कोठाको झ्याल’ माथि कैलाली जन–पुस्तकालयको सभाहलमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कैलाली जन–पुस्तकालयद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिमका अग्रज तथा नयाँ पुस्ताका साहित्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव सुवास भण्डारीले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य उपाध्यक्ष टंकप्रसाद जोशीले दिनुभएकाे थियाे । साहित्यकार जनक रसिकले कवि शिशिरको जीवन–व्यक्तित्व र साहित्यिक यात्राबारे विस्तृत प्रस्तुति दिनुभएकाे थियाे ।

डा. तुलसी शर्माले संग्रहमा प्रयोग भएका बिम्ब, प्रतीक र शैलीगत पक्षबारे सैद्धान्तिक टिप्पणी गर्दै ‘बन्द कोठाको झ्याल’ लाई आधुनिक नेपाली कविताको संवेदनशील कडीका रूपमा व्याख्या गर्नुभयाे।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका सदस्य डा. पुष्कर भट्टले कवि शिशिरका कवितामा युवापुस्ताको यथार्थ र विद्रोही चेतनाको स्पष्ट प्रतिबिम्ब देखिएको उल्लेख गर्दै यस्ता सिर्जनाले समाजलाई आत्ममूल्यांकन गर्न प्रेरित गर्ने बताउनुभयाे । विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशीले कविताको सैद्धान्तिक तथा शिल्पगत पक्षबारे धारणा राख्नुभएकाे थियाे ।

कवितासंग्रहका केही कविताहरू कवि कल्पना जोशी, कवि खेम बतास र गोविन्द अवस्थीले वाचन गर्नुभएकाे थियाे । सहभागीहरूले पनि संग्रहका विषयवस्तु र भाव–संवेदनाबारे आफ्ना विचार राख्नुभएकाे थियाे ।

कार्यक्रमको सभापतित्व अध्यक्ष शिवराज ओझाले गर्नुभएकाे थियाे । उहाँले कवि हेमन्त शिशिरको सिर्जनाले सुदूरपश्चिमको साहित्यिक चेतनालाई सशक्त बनाएको उल्लेख गर्दै यस्ता परिचर्चाले नेपाली साहित्यको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।