काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव’मा ‘संगिनी’ले उत्कृष्ट प्रथम लघु फिल्मको उपाधि हात पारेको छ भने ‘कलर अफ टी’का निर्देशक राज सरगम उत्कृष्ट निर्देशक घोषित हुनुभएकाे छ ।

बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक, रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीकाे अवसरमा प्रतिष्ठानले महोत्सव आयोजना गरेको थियो।

प्रतिष्ठानका सदस्य–सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जनभन्दा बढी लघु चलचित्र मध्येबाट ९ चलचित्रलाई प्रतिष्पर्धाका लागि छानिएको थियो। महोत्सवको उद्देश्य नयाँ पुस्तालाई प्रोत्साहित गर्नुका साथै रिमालको नाट्य तथा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गर्नु रहेको आयोजकले बताएको छ।

प्रतियोगितामा विनोद लोहार निर्देशित ‘संगिनी’, राज सरगम निर्देशित ‘कलर अफ टी’ र सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ उत्कृष्ट तीन चलचित्र घोषित भए। क्रमशः नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको थियो।

त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट सम्पादन, लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधामा जनही १५ हजार रुपैयाँ र सम्मान–पत्र प्रदान गरियो। निर्णायक मण्डलमा रंगकर्मी तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठ रहनुभएकाे थियाे।

कार्यक्रममा प्रतिष्ठानले नाट्य, संगीत तथा पत्रकारितामा विशेष योगदान पुर्‍याउने स्रष्टाहरुलाई पनि सम्मान गर्यो। प्रमुख अतिथि प्राध्यापक डा. बासुदेव त्रिपाठीको आतिथ्यमा आयोजित समारोहमा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र गायक धिरज राईलाई जनही एक लाख रुपैयाँ र सम्मान–पत्र प्रदान गरिएको थियो।

मन्त्री खरेलको व्यक्तित्व र योगदानबारे लेखक दीपक सापकोटाले चर्चा गर्दै ‘हट सिट’ कार्यक्रममार्फत उहाँले समाजमा बहसको संस्कार विकास गरेको बताउनुभयाे। मन्त्री खरेलले सम्मान ग्रहणपछि “गलत काम नगर्ने प्रतिबद्धता” व्यक्त गर्दै नागरिकले देखाएको बाटो पछ्याउने बताउनुभएकाे थियाे ।

गायक धिरज राई र गायिका मिरा राणाको योगदानबारे कलाकार रबिन्द्र खड्का र सम्राट सापकोटाले  चर्चा गर्नुभयाे । राईले विश्वभर ‘Buddha was born in Nepal’ अभियान चलाइरहनुभएकाे छ, भने राणा पाँच दशकदेखि नेपाली तथा अन्य भाषाका गीत संगीतमा सक्रिय हुनुहुन्छ ।

कार्यक्रममा ९४ वर्षीया कल्याणी रिमाल (स्व. हरिप्रसाद रिमालकी धर्मपत्नी) को पनि विशेष उपस्थिति थियो। प्रतिष्ठानका प्रयागराज भट्टराई वशिष्ठले संस्थाको अवस्थाबारे जानकारी दिँदै सरकारी सहयोगबिना स्व. रिमालले प्राप्त पुरस्कार रकमबाट प्रतिष्ठान सञ्चालन भइरहेको बताउनुभयाे स। प्रमुख अतिथि त्रिपाठीद्वारा पुरस्कार विजेता स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिँदै नयाँ पुस्तालाई यस्ता प्रतिष्ठानहरूसँग जोडिन आग्रह गरिएको थियो।