काठमाडौं । फाइनप्रिन्ट बुक्सले चितवन, नारायणगढस्थित नारायणी कला मन्दिरमा आउँदो शनिबार (कात्तिक १) चौथो संस्करणको ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ । फाइनप्रिन्टद्वारा २०८१ र २०८२ सालमा प्रकाशित कृतिका लेखकहरू, साहित्यप्रेमी र पाठकहरूलाई एकै स्थानमा ल्याउने उद्देश्यका साथ आयोजना गरिने कार्यक्रममा लेखकहरूको बौद्धिक विमर्शका विभिन्न सत्र सञ्चालन गरिनेछ ।
कार्यक्रम नारायणी कला मन्दिरको सहआयोजनामा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । फिभरमा सहभागी लेखकहरूले आफ्ना पुस्तकबारे चर्चा, अन्तर्क्रिया र पाठकसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ । साथै पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटमा पुस्तक प्रदर्शनी पनि रहनेछ । सहभागीका लागि कुनै शुल्क लाग्ने छैन ।
फिभरका अवसरमा साहित्य, पत्रकारिता र कला क्षेत्रका चर्चित हस्तीहरूको सहभागिता रहनेछ । महानायक राजेश हमाल, मदन पुरस्कार विजेता कृति उरमाल का लेखक छुदेन काविमो, पद्मश्री साहित्य पुरस्कार विजेता कृति छालबाटो का लेखक रमेश भुसाल, विमल गुरुङ कृति पुरस्कार प्राप्त कृति सिमसारा का लेखक तथा पत्रकार बसन्त बस्नेत, उत्तम शान्ति पुरस्कार विजेता कृति अक्षत अन्टार्कटिका का लेखक जीवा लामिछाने, स्वस्पर्श का लेखक डा. नवराज केसी, नयाँ कृति चमेलीको फूल बैजनी रुमाल का लेखक सुबिन भट्टराई र ज्ञानिका का लेखक ददि सापकोटा सहभागी हुने तय गरिएको छ ।
कार्यक्रमको पहिलो सत्रमा सुबिन भट्टराई र मिमांशा ढुंगेलबीच ‘चमेलीको फूल बैजनी रुमाल’ शीर्षकमा संवाद हुनेछ । यसअघि उक्त पुस्तक असोज ३१ मा प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा विमोचन हुँदैछ ।
राजेश हमालसँग ‘युगदेखि युगसम्म’ सत्रमा लेखक भूपिनले संवाद गर्नुहुनेछ । छुदेन काविमोसँग ‘चियाका कथा : उरमाल’ शीर्षकमा सामना पहाडले अन्तर्क्रिया गर्नुहुनेछ । ‘नदी र समुद्रको यात्रा’ शीर्षकमा जीवा लामिछाने र रमेश भुसालबीच संवाद हुनेछ भने ‘स्वस्पर्शको स्पर्श’ शीर्षकमा डा. नवराज केसी र जीवन क्षेत्रीबीच अन्तर्क्रिया हुने कार्यक्रम छ ।
त्यसैगरी ‘२१ ज्ञानिका’ शीर्षकमा ददि सापकोटा र अमर न्यौपानेबीच संवाद हुनेछ भने बसन्त बस्नेतसँग ‘महाभारा र सिमसारा’ शीर्षकमा रञ्जना सुब्बाले अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
फाइनप्रिन्ट फिभर यसपटक नारायणगढबाट सुरु गरी अन्य शहरमा पनि लैजाने योजना आयोजकको छ । यसअघि फाइनप्रिन्ट फिभर २०७५ मा धनगढी, नेपालगन्ज, सुर्खेत र पोखरामा, तथा २०७७ मा नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा आयोजित भएको थियो । कोभिड महामारीपछि यो पहिलोपटक फिभर आयोजना हुन लागेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




