टोकियो, जापान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरसाहित्यपोस्टको संयुक्त आयोजनामा ११७ औँ लक्ष्मी जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । जापानको टोकियो शहरमा हुने उक्त कार्यक्रममा साहित्यकार तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको प्रमुख आतिथ्यता रहनेछ ।

कार्यक्रममा लक्ष्मी जयन्ती मनाउँदै साहित्यपोस्ट एपको औपचारिक उद्घाटन गरिनेछ । नेपाली साहित्यलाई डिजिटल माध्यमबाट विश्वभर फैलाउने उद्देश्यले विकसित गरिएको साहित्यपोस्ट एप जापानमा पनि औपचारिक रूपमा प्रस्तुत गरिनेछ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिलाई अवसर बनाएर जापान जानु साहित्यपोस्ट तथा समग्र नेपाली साहित्यको संवद्र्धनका महत्त्वपूर्ण कदम रहने प्रधानसम्पादक कोइरालाले बताउनुभयो ।

‘‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरले नेपाली भाषा, साहित्य, संस्कृति र कलालको एकमात्र (इ) दैनिक साहित्यपोस्टलाई स्थापना कालदेखि सहयोग र सहकार्य गर्दै आएको छ । समाजका दुई अध्यक्षहरु पत्रिकाका संरक्षक हुनुले पनि यो कुराको पुष्टि गर्छ ।’’, कोइरालाले भन्नुभयो, ‘‘यो सहकार्य संस्थाका सबै जसो च्याप्टरसम्म फैलिएको छ । त्यसमा पनि जापान च्याप्टरसँगको सहकार्य अझै नवीन, सिर्जनशील र अझै बढी व्यवसायिक हुँदै गएको छ । जापान च्याप्टरको यो सक्रियता र सहयोगलाई साहित्यपोस्ट परिवारले हृदयभरि सँगालेर राखेको छ ।’’

साथै, कोइरालाले आगामी दिनमा यो सहकार्य जारी रहने अपेक्षा राख्दै जापान च्याप्टरले देखाएको बाटोमा अनेसासका सबै च्याप्टरको आँखा पर्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यपोस्ट एपमा एक हजारभन्दा धेरै नेपाली तथा अनूदित पुस्तक तथा श्रव्यपुस्तक उपलब्ध छन् । साहित्यपोस्टको वार्षिक ग्राहक हुन् डायस्पोराका लागि वार्षिक शुल्क एक सय अमेरिकी डलर रहेको छ । कार्यक्रमका दिन ५ हजार जापानिज यानमा साहित्यपोस्टको वार्षिक सदस्यता लिन सकिने छ ।

कार्यक्रममा खुला रचना वाचन पनि गरिनेछ सहभागी स्रष्टाहरूले आफ्ना कविता, गीत तथा गजल गर्न सक्नेछन् त्यस्तै, सहभागीहरूबीच स्वागत तथा अन्तरक्रिया कार्यक्रम, विचार आदानप्रदान तथा साहित्यिक संवाद पनि गरिनेछ

कार्यक्रम आगामी अक्टोबर २६ तारिख, आइतबारका दिन शिनओकुबोस्थित सोलमारी हलमा दिउँसो १२:३० बजेबाट शुरु हुनेछ । कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यप्रेमी, साहित्यकार, पत्रकार तथा समाजसेवीहरूको गरिमामय उपस्थिति रहने अपेक्षा गरिएको छ ।