पोखरा । कविता क्लब पोखराको आयोजनामा कवि एलिसा ढुंगानाको कृति ‘सौन्दर्यको भग्नावशेष’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार, समालोचक तथा कविहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विमर्शका क्रममा सुरज पौडेलले कवि ढुंगानाको लेखन र शिल्प क्षमतालाई प्रशंसा गर्दै तीन खण्डमा समेटिएका ३८ कवितालाई सच्चिदानन्दका रूपमा चित्रण गर्नुभयाे। कवि रमेश श्रेष्ठले ढुंगानाको कवितामा जीवनका उज्यालो पाटाहरूको गहिरो अभिव्यक्ति रहेको बताउनुभयाे र उहाँको आगामी कवितायात्राको सफलताको शुभकामना दिनुभयाे ।

साहित्यकार मणि लोहनीले कविता क्लबद्वारा गरिएको यो विमर्शलाई महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गर्नुभयाे । स्रष्टा ढुंगानाले आफ्नो कृतिको आवरणकलालाई विशेष धन्यवाद दिँदै कविताबाहेक वाङ्मयका अन्य आयामहरूमा पनि भविष्यमा समर्पित भएर लाग्ने धारणा व्यक्त गर्नुभयाे ।