वाशिङ्टन डिसी। बहुविधाका सक्रिय सर्जक गोविन्द गिरी प्रेरणा अमेरिकी राज्य भर्जिनियामा आयोजित कविता वाचन कार्यक्रममा सहभागी हुनुभएकाे छ । भर्जिनियाको च्याण्टिली शहरस्थित एक होटलको सभाकक्षमा उत्तर भर्जिनिया राज्यका कविहरूको साझा मञ्च ‘नोभा वार्डस’ को आयोजनामा भएको कार्यक्रममा प्रेरणाले अङ्ग्रेजी भाषामा रचित आफ्नो कविता ‘Pen and Pain’ वाचन गर्नुभएकाे थियाे ।

नोभा वार्डसले हरेक वर्ष वार्षिक कविता सङ्कलन प्रकाशन गर्दै आएको छ। प्रकाशनपछि पुस्तक सार्वजनिक गर्दै सोही सङ्कलनमा प्रकाशित कविहरूले आफ्ना कविता वाचन गर्ने परम्परा रहँदै आएको छ। यस वर्षको समारोहमा प्रेरणासहित २५ भन्दा बढी अमेरिकी कविहरूले कविता वाचन गर्नुभएकाे थियाे ।

कवि प्रेरणाले विगत पाँच वर्षभन्दा बढी समयदेखि उक्त वार्षिक प्रकाशनमा आफ्ना मौलिक अङ्ग्रेजी कविताहरू प्रकाशित हुँदै आएको जानकारी दिनुभयाे ।

स्मरणीय छ, कवि प्रेरणा चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यका विभिन्न विधामा निरन्तर लेखन र प्रकाशनमा सक्रिय हुनुहुन्छ। हालै प्रकाशित उहाँको पारिजातको बृहत् जीवनी पुस्तक ‘सुश्री पारिजात’ विशेष चर्चामा रहेको छ।

उहाँका कविताहरू हिन्दी, अङ्ग्रेजी, बङ्गाली, मैथिली, टर्किस, मलाय, चिनियाँ लगायतका भाषामा अनुवाद भई प्रकाशित भइसकेका छन्।