कोहलपुर । कोहलपुरमा आयोजित ‘क्याफे कविता’को तेस्रो शृङ्खलामा कवि तथा कलाकार रसिक राज र विद्याश्री सिंहले उत्कृष्ट प्रस्तुति दिएर श्रोताहरूको मन जित्नुभएकाे  छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै कविले ६/६ वटा कविता वाचन गर्नुभएकाे थियाे ।

बंगलोरबाट म्युजिकमा स्नातकोत्तर गर्नुभएकाे विजय चौधरीको गितार संगीतसँगै प्रस्तुत गरिएका कविताहरूले हलमा उपस्थित करिब १०० जना श्रोताहरूलाई मोहित पारेकाे थियाे ।

आयोजक संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले नयाँ प्रतिभाशाली स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले क्याफे कविता सुरु गरिएको र यसले छोटो समयमा उल्लेखनीय लोकप्रियता कमाएको बताउनुभयाे ।

कार्यक्रममा कवि लक्ष्मण संगमले कविता सुन्नकै लागि अछामबाट आएको र काठमाडौँको प्लेन टिकट सारेर कोहलपुर पुगेको अनुभव सुनाउनुभयाे ।

करीब डेढ घण्टा चलेको कार्यक्रम लामो औपचारिकता बिना रोचक र घुलमिल वातावरणमा सम्पन्न भएकाे थियाे । वाचनका क्रममा कविहरूले आफ्ना कविताको रचनागर्भ र साहित्यिक यात्राबारे पनि जानकारी दिनुभएकाे थियाे ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, लेखक नरेन्द्रजंग पिटर, तथा बाँके, बर्दिया, कैलाली, दाङ, प्युठान, सुर्खेत, जाजरकोट लगायत विभिन्न जिल्लाका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण पूर्णिमा साहित्य प्रतिष्ठानकाे सचिव केशव निमेषले गर्नुभएकाे थियाे ।