हुम्ला । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाकै पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालय दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि अध्ययन र ज्ञान अभिवृद्धिको महत्वपूर्ण केन्द्रका रूपमा अगाडि आउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गर्नुभयाे। उहाँले भन्नुभयाे, “विद्यार्थीले पढेनन् भने समाज बिग्रिन्छ, समाज बिग्रिए देश बिग्रिन्छ। त्यसैले सबै विद्यार्थी भाइबहिनीलाई पुस्तक पढ्न अनुरोध गर्दछु।”
कार्यक्रमका प्रमुख अतिथि, पूर्वशिक्षक तथा शिक्षाविद् कुलप्रसाद चौलागाईंले पुस्तकालय स्थापना हुम्लाका विद्यार्थीका लागि ठूलो अवसर भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “हामीले कथा–उपन्यास त टाढाको कुरा, पाठ्यपुस्तक पनि सजिलै पढ्न पाएका थिएनौं। अहिले सामुदायिक पुस्तकालय स्थापना भएको छ, त्यसैले सबै विद्यार्थीले मन लगाएर पढ्नुपर्छ।” उहाँका अनुसार पुस्तकालयमा करिब तीन हजार पुस्तकहरू रहेका छन्, जसमा साहित्यिक, राजनीतिक लगायतका विभिन्न विषयका पुस्तकहरू समावेश छन्।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढाले विद्यालय व्यवस्थापनमा सुधारका लागि नयाँ कदम चालिने उल्लेख गर्दै पुस्तकालय सञ्चालनपछि विद्यार्थीहरूको अध्ययनप्रतिको रुचि थपिने विश्वास व्यक्त गर्नुभयाे।
त्यस्तै, एजुकेटिङ रिमोट एरियाज नेपालका सह–संयोजक गोविन्द गोडासैनीले कर्णालीका विद्यार्थीमा पुस्तकालय प्रयोग गर्ने र किताब पढ्ने बानी कम रहेको बताउँदै यो विद्यालयले राम्रो उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयाे।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिर्खबहादुर सिंह, वडा नम्बर ३ का सदस्य कुलप्रसाद चौलागाईं, विद्यालयका अध्यक्ष जनक बुढा, सदस्यहरू विशु बोहोरा, नर्जन बुढा, धर्मकला बुढा, सिंह नेपाली, बिर्सबहादुर सिंह, सह–प्राध्यापक खगेन्द्र बम, शिक्षक विरबहादुर रोकायासहित अभिभावक तथा स्थानीयवासीहरूको उत्साहपूर्ण उपस्थिति थियो।
सामुदायिक पुस्तकालय सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनको वातावरण सुधार गर्न तथा पुस्तक पढ्ने संस्कृतिको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




