काठमाडौँ  । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । असोज २५ गते (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठान भवन, काठमाडौँमा आयोजित विशेष समारोहमा पुस्तक लोकार्पण गरिएको हो ।

यो पुस्तक लेखक यज्ञशसँगको संवादमा आधारित छ । लोकार्पण कार्यक्रममा स्वयं राजेश हमाल, लेखक यज्ञश, चर्चित लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएकाे हाे ।

पुस्तकमा हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, संघर्ष, सफलता तथा व्यक्तिगत जीवनका स्मृतिहरूलाई आत्मीय शैलीमा प्रस्तुत गरिएको छ । पुस्तकले नेपाली चलचित्र क्षेत्रमा हमालले पुर्‍याएको योगदानका साथै समाजप्रतिको उहाँको दृष्टिकोण र विचारलाई पनि समेटेको छ ।

कार्यक्रममा दर्शक, चलचित्रप्रेमी र पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भक्तपुरका रवीन्द्र बस्नेत बिहानै पुस्तक लिन आउनुभएकाे थियाे । पहिलो २५ जनालाई मात्र हस्ताक्षरसहित निःशुल्क पुस्तक वितरण गरिएको थियो, जसमा उहाँ भाग्यमानी बन्नुभयाे । उहाँले भन्नुभयाे, “चलचित्र क्षेत्रमा देखिएको चमकमाथि उहाँको वास्तविक जीवन बुझ्न अब हामी अझ नजिक पुग्नेछौँ ।”

त्यस्तै, उत्साही पाठक बुद्धि ब्लोन तामाङले सामाजिक सञ्जालमार्फत पुस्तकबारे थाहा पाएपछि तुरुन्तै पढ्ने चाहना भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “हामीले पर्दामा देख्ने ग्लामरस जीवनभन्दा फरक उहाँको संघर्ष र आत्मबलको कथा यस पुस्तकमार्फत थाहा पाइनेछ ।”

कार्यक्रमका सहभागीहरूले ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ लाई चलचित्रप्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति भएको प्रतिक्रिया दिएका थिए ।