काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भाषा साहित्य समितिको सहकार्यमा ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । एनआरएनएको २२ औँ स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रम प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे । उद्घाटन सत्रमा विश्वासदीप लिम्बू सम्पादक प्रकाशक रहेको राष्ट्रिय साप्ताहिक ‘नेपाली समाचार’ को लोकार्पण समेत गरिएको थियो ।

बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपाली, विभिन्न मातृभाषा तथा अङ्ग्रेजी गरी ५९ जना कविहरूले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे । नेपाली भाषामा प्रा.डा. गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी ‘धड्कन’, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, रश्मि थापा, सिर्जना सरोवर, जानकी गुरुङ, सुशीला राई, राधिका कल्पित, विजय हितान, शशी श्री आचार्य, रश्मि रिमाल, याेगराज राजन, सुनिल आङ्बो, रविन्द्र आशिष, जाँयस जया, उत्तम तुम्सा, जमुना पौडेल, कर्ण दयाल, दिपा लक्सम र निरन्ती तुम्बापोले कविता वाचन गर्नुभएकाे थियाे ।

त्यस्तै, अञ्जु राजवंशी (राजवंशी), ओमकृष्ण श्रेष्ठ (नेपालभाषा), जगत् वशिष्ठ (खस), गणेश वाम्बुले राई (वाम्बुले), डम्बर थामी (थामी), निशेष आङ्देम्बे (याक्थुङ), पदम बालाहाङ राई (बान्तावा), पेम्बा गेलु शेर्पा (शेर्पा), भूमिका थारु (डङ्गौरा थारु), राकेशबहादुर बुढा मगर (खाम मगर), आलोक तिवारी (अवधी), शर्मिला राना थारु (राना थारु), शोभा सुनुवार (सुनुवार), रचना मोक्तान तामाङ (तामाङ), स्नेहा झा (मैथिली), मनु ठाडा मगर (ढुट मगर), रितेश त्रिपाठी (भोजपुरी), प्रगति राई (चाम्लिङ), विमला गुरुङ (तमु), प्रकृति थारू (थारू), शिलाखा वाम्बुले राई (वाम्बुले) लगायतका कविहरूले मातृभाषामा सिर्जना वाचन गरे । निरा श्रेष्ठले अङ्ग्रेजी भाषामा कविता प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुलपति राईले विभिन्न भाषाको प्रतिनिधित्वसहित भएको सिर्जना वाचनले नेपालको बहुभाषिक समाज र सांस्कृतिक मौलिकता प्रतिबिम्बित गरेको बताउनुभयाे । उहाँले संसारभर फैलिएका नेपालीहरूले भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरिरहेका छन् भन्ने उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठान बहुभाषिक प्राज्ञिक केन्द्रका रूपमा अघि बढिरहेको बताउनुभयाे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै नेपाली भाषा–साहित्यको विकासमा अगाडि बढ्न सकिने बताउनुभयाे । प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले राज्यले सबै भाषाप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयाे ।

विशिष्ट अतिथि महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपाली सन्तानहरूलाई मातृभाषा सिकाउनु पहिचान बचाउने माध्यम भएको बताउँदै भाषा, साहित्य र संस्कृति संरक्षणमा सक्रिय रहन आग्रह गर्नुभयाे । एनआरएनएको पूर्व महासचिव जानकी गुरुङले जहाँ भए पनि नेपालीप्रतिको माया र स्नेह यथावत रहेको बताउनुभयाे।

सभाध्यक्ष तथा एनआरएनएका उपाध्यक्ष र भाषा साहित्य समितिका संयोजक विश्वासदीप तिगेलाले भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि नेपालसँग सहकार्य गर्दै एनआरएनए निरन्तर सक्रिय रहेको बताउनुभयाे । उहाँले बहुभाषिक सिर्जना वाचनले नेपालका सबै भाषाको समान स्वत्व कायम गर्न सघाउने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रमको उद्घोषण एनआरएनए भाषा साहित्य समितिका सदस्य तथा कथा–कवि अमित थेबेले गर्नुभएकाे थियाे  ।