हंगेरीका लेखक लास्लो क्रास्नाहोर्काईलाई यस वर्षको साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको छ । उनी दार्शनिक र गम्भीर रूपमा हास्यपूर्ण उपन्यासका लागि चिनिन्छन्‌  । उनका उपन्यासका वाक्यांश लामा र विस्तारित हुन्छन्‌ । नोबेल समितिले उनको कृतिहरूलाई ‘सर्वनाशको भयबीच पनि कलाको शक्तिलाई पुनःस्थापित गर्ने आकर्षक र दूरदर्शी सृजनशीलता’ भन्दै सम्मान गरेको हो ।

क्रास्नाहोर्काईका धेरै प्रसिद्ध कृतिहरूमा पहिलो उपन्यास ‘सातानटाङ्गो’ लाई लिने गरिन्छ  । उनका दुई उपन्यासलाई फिल्ममा समेत रूपान्तरित गरिएको छ  । तीमध्ये ‘सातानटाङ्गो’ र ‘द मेलान्कली अफ रेजिस्टेन्स’ हुन्‌  । नोबेल निर्णायकहरूले उनको ‘भ्रमविहीन कलात्मक दृष्टि र सामाजिक व्यवस्थाको नाजुकपनलाई भेद्ने क्षमतासँगै कलाको शक्तिमाथि उनको अटल विश्वास’को प्रशंसा गरेका छन्‌ । ७१ वर्षीय क्रास्नाहोर्काईले यसअघि पनि धेरै प्रतिष्ठित पुरस्कारहरू जितिसकेका छन्‌  । सन् २०१५ मा उनले म्यान बुकर इन्टरनेसनल पुरस्कार प्राप्त गरेका थिए । बुकर निर्णायकहरूले उनका ‘अविश्वसनीय लम्बाइका असाधारण वाक्यहरू, जसले गम्भीरदेखि पागलपन, जिज्ञासा र निराशासम्मका स्वरहरू समेट्छन्‌’ भनेर प्रशंसा गरेका थिए । सन् २०१९ मा उनले अमेरिकाको नेशनल बुक अवार्ड पनि जितेका थिए  । उनको कृति ‘ब्यारन वेन्कहाइम्स होमकमिङ’को अंग्रेजी अनुवादका लागि सो अवार्ड हात पारेका थिए  । उनी सन् २००२ पछि हंगेरीका पहिलो नोबेल विजेता हुन्‌ । त्यसअघि इम्रे केर्तेसले यो पुरस्कार हासिल गरिसकेका थिए  ।

नोबेल जितेसँगै अब उनी अर्नेस्ट हेमिङ्वे, टोनी मोरिसन र काजुओ इशिगुरोजस्ता विश्वप्रसिद्ध साहित्यकारहरूको सूचीमा परेका छन्‌  । यो नोबेल साहित्य पुरस्कार स्विडिस एकेडेमीले प्रदान गर्ने गर्छ  । यो पुरस्कार अहिलेसम्म ११७ पटकमा १२१ जनालाई दिइसकिएको छ । गत वर्ष यो पुरस्कार दक्षिण कोरियाकी लेखिका हान काङलाई प्रदान गरिएको थियो  । उनका रचनाहरूले ‘ऐतिहासिक पीडाहरूको सामना गर्दै मानव जीवनको नाजुकतालाई उजागर गर्छन्‌’ भनी समितिले जनाएको थियो । नोबेल एकेडेमीको यो चौथो नोबेल घोषणा हो  ।

यसअघि चिकित्सा, भौतिकशास्त्र र रसायनशास्त्रका विजेताहरू घोषणा भइसकेका छन्‌  । नोबेल शान्ति पुरस्कार भने शुक्रबार घोषणा हुनेछ  । यसको सर्वाधिक प्रतिक्षा भइरहेको छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि यो पुरस्कार हात पार्न निकै कसरत गरिरहेका छन्‌  । अन्तिम पुरस्कारका रूपमा अर्थशास्त्रको नोबेल स्मृति पुरस्कार सोमबार सार्वजनिक गरिने बताइएको छ  ।

नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा, नोबेलका संस्थापक अल्फ्रेड नोबेलको १८९६ मा भएको निधनको वार्षिकीमा आयोजना गरिन्छ । नोबेल स्विडिस उद्योगपति र डाइनामाइटका आविष्कारक थिए  । प्रत्येक नोबेल पुरस्कारमा ११ मिलियन स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) को नगद पुरस्कार, १८ क्यारेटको सुनको पदक र डिप्लोमा प्रदान गरिन्छ । नोबेल साहित्यका रोचक जानकारी यसअघि यो विधाको पुरस्कार दुई–दुई लेखकलाई चार पटक (सन् १९०४, १९१७, १९६६ र १९७४ मा) संयुक्त रूपमा दिइएको थियो । तर अरू विधामा भन्दा यसमा एकल विजेताहरू अत्यधिक छन्‌ । अहिलेसम्म कुनै साहित्यकारले पनि दोहोर्याएर नोबेल पुरस्कार पाएका छैनन् भने दुई जनाले पुरस्कार लिन अस्वीकार गरेका छन्‌ । सन् १९५८ मा विजेता घोषित तात्कालिक सोभियत सङ्घका बोरिस पास्टर्नाकले ‘सरकारी पक्षको दबावका कारण’ पुरस्कार लिएनन्‌ । जाँ पाल सार्त्रले सबै खालका सम्मान नलिएको भन्दै सन् १९६४ मा नोबेल पुरस्कार पनि अस्वीकार गरे । सन् २०२४ सम्म कुल १८ महिलाले यो पुरस्कार हात पारेका छन्‌ ।

नोबेल साहित्य पुरस्कार पाउने सबैभन्दा कान्छा लेखक रुड्यार्ड किप्लिङ हुन्‌ । सन् १९०७ मा पुरस्कृत हुँदा उनी ४१ वर्षका थिए । सन् २००७ मा पुरस्कार पाउँदा डोरिस लेसिङ ८१ वर्षकी थिइन्‌ । नोबेल पुरस्कारबाट सम्मानित हुने उनी वृद्धतम साहित्यकार हुन्‌ । उनको जन्म सन् १९१९ मा तात्कालिक पर्सियामा भएको थियो । अहिलेसम्म केवल एक जनालाई मरणोपरान्त साहित्यतर्फको नोबेल पुरस्कार दिइएको छ । सन् १९३१ मा स्वीडनका कवि एरिक आक्सेल कार्ल्फेल्ट सम्मानित भएका थिए । सन् १९६१ मा डाग ह्यामर्शोल्डले पनि मरणोपरान्त नोबेल शान्ति पुरस्कार पाए । तर सन् १९७४ मा नोबेल फाउन्डेशनको विधानमा विजेताको नाम घोषणा भएपछि मृत्यु भएमा बाहेक कसैलाई पनि मरणोपरान्त पुरस्कार नदिने प्रावधान राखियो ।

सन् २०१८ मा र विश्वयुद्धका बेला छ वर्ष साहित्यतर्फ नोबेल पुरस्कार कसैलाई पनि दिइएन । सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै पुरस्कार प्रदान गरिएको थिएन । धेरैलाई ब्रिटिश नेता विन्स्टन चर्चिलले नोबेल शान्ति पुरस्कार पाएका थिए भन्ने लाग्छ । तर उनी सन् १९५३ मा साहित्यतर्फ पुरस्कृत भएका थिए । नोबेल समितिका अनुसार सन् १९४५ देखि १९५३ सम्म चर्चिलको नाम २१ पटक साहित्यततर्फ र दुई पटक शान्तितर्फ मनोनयनमा परेको थियो । यद्यपि साहित्यतर्फ पुरस्कारका लागि प्रत्येक वर्ष हुने मनोनयन र पुरस्कार विजेता छान्ने समितिका सदस्यहरूले लेख्ने धारणा ५० वर्ष गोप्य राखिने गरेको छ । सन् १९१३ मा भारतीय कवि रवीन्द्रनाथ ठाकुर नोबेल पुरस्कारबाट पुरस्कृत भए । नाम मनोनयनमा परेकै वर्ष उनलाई उक्त पुरस्कार दिइएको थियो ।