काठमाडौं ।  काव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ एक  समारोहबीच विमोचन गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार तथा हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा भिडियो स्विच अन गरी गीत सार्वजनिक गरिएको हो।

गीत  संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा तयार गरिएको हो, जसलाई काव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको छ। संगीत संयोजन राजु कार्की, संगीत सञ्चयक एसबी मुस्कान र संगीत सम्पादक प्रकाश मिश्रकाे रहेक छ । अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको छायांकन र सम्पादन राजन खरेलले गर्नुभएकाे हाे । भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्ण भुसालले साहित्यलाई संगीतसँग जोड्ने श्रेष्ठको प्रयासको प्रशंसा गर्नुभयाे । गायक तथा संगीतकार श्रेष्ठले श्वेतपत्र महाकाव्यका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्न धेरै मिहिनेत गरेको बताउनुभयाे । उहाँले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम सञ्चालन भइरहेको र श्वेतपत्र बाट अन्य गीत पनि ल्याउने तयारीमा रहेको जानकारी दिनुभयाे ।

काव्यकार दाहालले श्वेतपत्र को यात्रा सुनाउँदै कतै प्रशंसा त कतै आलोचना पाएको अनुभव बाँड्नुभयाे । संगीतकार राजु सिंहले साहित्य र संगीतको सहकार्यलाई उत्कृष्ट पहल भन्दै बधाई दिनुभयाे । डा. अम्बिका अर्यालले महाकाव्यले नेपाल, सिक्किम र भुटानलाई तीन दिदीबहिनीको संवादका रूपमा प्रस्तुत गरेको र यसको सन्देश प्रभावकारी रहेको बताउनुभयाे ।

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले श्वेतपत्र लाई दाहालका कृतिहरूमध्ये अब्बल ठहर गर्नुभयाे  भने गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले दाहालको गीतकार परिचय थपिएकोमा बधाई दिनुभयाे । डा. यज्ञेश्वर निरौलाले गीतको भाषिक संरचना र गायनको सराहना गर्नुभयाे ।

प्रमुख अतिथि प्रा. डा. कोइरालाले श्वेतपत्र र अहोरात्र दाहालका विशेष कृति भएको उल्लेख गर्दै यसलाई विद्रोही चेतनाको नवीन महाकाव्यका रूपमा प्रशंसा गर्नुभयाे । सभापति प्रा. पुरुषोत्तम दाहालले दाहालको साहित्यिक योगदानको उच्च मूल्याङ्कन गर्दै गीत र भिडियो राम्रो बनेको बताउनुभयाे ।

मिलाप मासिकको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, समाजसेवीलगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।