काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ । यसअघि उनका प्रकाशित ६ वटा निबन्धसंग्रहबाट निबन्धहरु छानेर चर्चित साहित्यकार अमर न्यौपानेले ‘एकलानुभूति’मा सङ्गृहित गरेका हुन् ।

मिश्रका विभिन्न निबन्धसङ्ग्रहका फरक फरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपाने साहित्यपोस्टलाई बताए । ‘एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य पाइन्छ,’ न्यौपानेले भने, ‘उनको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ पाइन्छ । जुन विषयवस्तुमा उनी निबन्ध लेख्छन्, पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा पुर्याउँछन् ।’

मनुजबाबु मिश्र एक परिचित नेपाली निबन्धकार रहेको प्राध्यापक एवम् लेखक अभि सुवेदीले बताए । ‘उनका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन हुन्छ । एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन्,’ सुवेदी भन्छन्, ‘त्यसैले उनका चित्रकलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको हुन्छ ।’

मिश्रले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा प्रयोग गर्छन्, जुन उनको एक निबन्धकारका रूपमा मौलिक विशेषता रहेको सुवेदीको भनाइ छ ।

एक महान् कलाकारका कृतिलाई पाठकसामु ल्याउन पाउनु आफूहरूका लागि सौभाग्यको विषय रहेको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए । ‘मिश्र एक महान् कलाकार हुन्, उनका चित्रकला जति जीवन्त छन्, निबन्ध पनि उत्तिकै प्रभावशाली छन्,’ उनले भने, ‘मिश्रले भोगको समाज, त्यति बेलाको विश्व एवम् विविध विषयलाई अहिलेको पुस्ताले पढ्नुपर्छ भनेर यो पुस्तक प्रकाशनमा ल्याएका हौं ।’

मिश्रका कला अन्तर्राष्ट्रिय रूपमा प्रदर्शित एवम् प्रतिष्ठित छन् । निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । मिश्रको यो निबन्धसङ्ग्रहमा जीवनजगत्का विविध पक्षलाई सटीक ढङ्गले प्रस्तुत गरिएको छ ।