काठमाडौँ । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कारलाई लिएर केही व्यक्ति र समूह आफ्नो चरित्र हत्या गर्न लागेकाले उनले पुरस्कार नलिने घोषणा गरेको बताएका छन् ।
खेमराज हरिकला समाज कल्याण परिषद्ले यस वर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास हंसलाई दिने घोषणा गरेको थियो । तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन नसक्ने बताएका थिए । नेकपाकी कार्यकर्ता शारदा भुसालले पुस्तक लेखेरै प्रश्रितले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकाले उनीसँगै एउटै मञ्चबाट आफूले पुरस्कार लिन नमिल्ने भनाइ उप्रेतीको छ ।
‘खेम हरिकला सामाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकामा संस्थाप्रति आधार प्रकट गर्दछु । यो समाचार प्रकाशित भएपश्चात अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु’, प्रश्रितले सोमबार विज्ञप्तिमा भनेका छन् ।
प्रश्रितले आयोजकसँग सल्लाहमै पुरस्कार नलिने घोषणा गरेको पनि उल्लेख गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।