काठमाडौं । कवि उमेश अकिञ्चनको तेस्राे कविता संग्रह ‘सायद किनाराहरू’ सार्वजनिक भएको छ।
एयरपोर्ट होटलमा आयोजित समारोहमा रक्षामन्त्री मानवीर राई, कवि श्रवण मुकारुङ, कवि विमला तुम्खेवा, समालाेचक राजकुमार बानियाँ, अभिनेता जीवन लुइँटेल र स्वयं कृतिकार उमेश अकिञ्चनले सामूहिक रूपमा पुस्तक लोकार्पण गर्नुभएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री राईले साहित्यिक सृजनाहरू परिवर्तनका प्रेरक बन्ने उल्लेख गर्दै भन्नुभयो, “राणा शासन ढाल्नदेखि अहिलेका नयाँ व्यवस्थाहरू स्थापनासम्म कवि–लेखकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यिनमा सन्तुलित चेतना फैलाउने शक्ति हुन्छ।” साथै, उहाँले यस्ता चेतना देश समृद्धिको यात्रामा पनि उपयोगी हुने उल्लेख गर्दै कविहरूलाई लेखनमार्फत सामाजिक सन्तुलनमा योगदान पुर्याउन आग्रह गर्नुभयो।
कवि श्रवण मुकारुङले सायद किनाराहरू माथिको टिप्पणी गर्दै कविता युग अनुसार परिवर्तनशील हुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “राजनीति बिना साहित्य हुँदैन, र उत्कृष्ट कविता नारा हुनुपर्छ — त्यो नारा जनप्रिय पनि हुनुपर्छ।”
साहित्यकार विमला तुम्खेवाकाे अनुसार ‘सायद किनाराहरू’ अन्तरआत्माबाट निस्किएका कविता हुन्। ”कविले व्यवस्थामाथि प्रतीकात्मक ढंगले आफ्ना अनुभूति लेखेका छन्।”
कार्यक्रममा डा. स्मिता श्रेष्ठ र रिमा केसीले संग्रहमा समावेश कविताहरू वाचन गर्नुभयो। कार्यक्रमको सञ्चालन डा. हेम भण्डारीले गर्नुभएको थियो। समापनमा कवि उमेश अकिञ्चनले सम्पूर्ण अतिथि, वक्ता तथा दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै आफ्ना कविताहरूले पाठकसँग आत्मीय संवाद गढोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो।
साहित्यिक अभिव्यक्तिमा गहिरो अनुभूति र समयप्रतिको आलोचनात्मक दृष्टिकोण बोकेको ‘सायद किनाराहरू’ नेपाली कविताको धारमा एक महत्वपूर्ण पुस्तकका रूपमा आएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










