काठमाडौँ । उपन्यासकार डा. सञ्जीव उप्रेतीले ‘हंस’का लागि प्रदान गरिएको ‘पद्मश्री साहित्य पुरस्कार’ राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रितसँग एकै मञ्चबाट लिन अस्वीकार गरेका छन् । उप्रेतीसँगै पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका प्रश्रितलाई यौन दुर्व्यवहारको आरोप लागेकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने उनले आयोजकलाई जानकारी गराइसकेका छन् छन्।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको ‘हंस’लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । दुवै पुरस्कारको राशि ३/३ लाख रुपैयाँ रहेको छ । उप्रेतीले साहित्यपोस्टसँग भने, “साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गरेर उहाँसँगै पुरस्कार लिन सक्दिनँ।”
” यसकाे अर्थ मैले पद्मश्री पुरस्कार अस्वीकार गरेको होइन । लैंगिक हिंसा, उत्पीडन, जातीय-भेदका विरुद्ध बोलिरहने व्यक्ति भएर यौन उत्पीडनको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन कन्दिन भन्ने मेराे भनाइ हाे ।”, उनले भने, “म आफैँ एप्लाई गरेर पुरस्कार लिनु हुँदैन भन्ने मान्यता राख्छु । कसैले सम्मानस्वरुप दिने पुरस्कार अस्वीकार गर्ने कुरा पनि भएन, मैले हुन्छ भनेँ । तर अहिले आएर प्रश्रितसँगै मलाई पुरस्कृत गर्ने थाहा पाएर मैले आफूले लिन नसक्ने सूचना आयोजकलाई गराएको छु ।”
यसअघि ‘घनचक्कर’ उपन्यास आउँदा प्रकाशनले नै मदन पुरस्कारका लागि आवेदन दिएको र त्यसपछिका कृतिहरुका लागि आफूले प्रकाशकलाई पनि एप्लाई नगर्न आग्रह गरेको उनले बताए । हंसका लागि पनि आफूले प्रकाशकलाई कुनै पुरस्कारका लागि एप्लाई नगर्न अनुरोध गरेको बताए । उनले भने, “पुरस्कार अस्वीकार गर्दा दुःख लागेको छ तर त्योबाहेक मसँग कुनै उपाय छैन मैले मञ्च अस्वीकार गरेकाे हाे।”
अर्घाखाँचीकी महिला शारदा भुसालले पूर्वएमालेका नेता प्रश्रितले आफूमाथि पटक पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् । भुसालले लेखेको आत्मकथा ‘धरातल’मा १३ वर्षको उमेरमा आफूसँग प्रश्रितले पटक-पटक जबर्जस्ती सम्बन्ध राखेको र यौन हिंसा गरेको आरोप लगाएकी छिन् । प्रश्रित भुसालको पुस्तकमा लगाइएको आरोप निराधार रहेको बताउँदै आएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

