काठमाडौं । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’  काठमाडौंमा विमोचित भएको छ। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।

विमोचनकाे अवसरमा उपसभामुख राना मगरले मधेसमा महिला हिंसाका घटनाहरू सुनिने  ठाउँमा बुहारीले सासूलाई पुस्तक लेखनमा सहयोग गरेको प्रसङ्गले सम्पूर्ण नेपाली महिलालाई ऊर्जा दिने बताउनुभयाे । उहाँले भन्नुभयाे, “एउटी बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बनेको खबरले मलाई हर्षित बनाएको छ। लेखक मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको प्रयासको म प्रशंसा गर्छु।”

राना मगरले महिलाहरूबीच यस्तो सहकार्यले राम्रो नतिजा मात्र होइन, आपसी सामीप्यता र सद्भाव बढाउने उल्लेख गर्दै आफूले पनि कविता र गीत लेखे तापनि पुस्तकको स्वरूप दिन नसकेको अनुभव सुनाउनुभयाे । उहाँले मिश्रको यो कृति आफ्नै लागि पनि प्रेरणाको स्रोत बनेको बताउनुभयाे ।

कविता सङ्ग्रहकी लेखिका मिश्रले भारतबाट विवाह भएर नेपाल आएको प्रसङ्ग सुनाउँदै भन्नुभयाे, “सन् १९८६ मा नेपाल आएँ। यहाँ आएपछि नेपाली भाषा सिकेँ, र आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ। यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु।” उहाँले परिवारको साथकै कारण आफ्ना शब्दलाई पुस्तकको रूपमा प्रस्तुत गर्न सम्भव भएको बताउनुभयाे ।

कार्यक्रममा पत्रकार नम्रता शर्मा र लेखक रोहित भण्डारीले सङ्ग्रहमाथि टिप्पणी गर्दै कृतिमा समेटिएको सम्वेदनशीलता, भाषा प्रयोग र आत्मकथात्मक पृष्ठभूमिको प्रशंसा गर्नुभयाे ।

‘कविताको अन्नप्राशन’ पारिवारिक सहकार्य, भाषिक समर्पण र नारी स्वरको अभिव्यक्तिको दृष्टिले नेपाली साहित्यमा एक सशक्त कृति बनेर आएको सहभागीहरूले बताउनुभएकाे छ ।