भक्तपुर । २१२ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा भक्तपुर साहित्यिक समाज (भसास) ले आयोजना गरेको ‘शब्द रोपाइँ’ कार्यक्रम असार २८ गते भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलको प्रांगणमा भव्य रूपमा सम्पन्न भएको छ।

मानो रोपी मुरी फलाउने असार महिनाको व्यस्तता बीच भएको उक्त कार्यक्रममा वरिष्ठदेखि युवा पुस्तासम्मका ४३ जना साहित्यकार तथा सिर्जनाकारहरूले कविता, गीत, गजल, मुक्तक, लघुकथा लगायतका विविध साहित्यिक विधामा आफ्ना सिर्जना प्रस्तुत गर्नुभएकाे थियाे । एभरेष्ट इङ्गलिश स्कूलका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको सक्रिय सहभागिता र व्यवस्थापनले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन भसासका अध्यक्ष राजुराम मुनंकर्मीले दीप प्रज्वलन गरी गर्नु भएको थियो भने स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फूलमाला अर्पण गर्नुभएको थियो। भसासकी कार्यसमिति सदस्य सूर्यलक्ष्मी भोमीले भानुभक्तको जीवनी र योगदानमाथि प्रकाश पार्नुभएको थियो।

शब्द रोपाइँमा सहभागी स्रष्टाहरूले समाजका विकृति, भ्रष्टाचार, अनुशासनहीनता, कानुनी व्यवस्थाको उपहास र शक्तिकेन्द्रहरूको चलखेलजस्ता विषयमा कडा व्यंग्य प्रहार गर्दै सिर्जना वाचन गर्नुभएकाे थियाे । त्यस्तै, कतिपय सिर्जनाकारहरूले भानुभक्तलाई स्मरण गर्दै छन्दबद्ध कविता प्रस्तुत गर्नुभएकाे थियाे ।

शब्द रोपाइँमा नारायण तिवारी, सुशिला प्रधानांग, प्रविण जोशी, मानिक बाबु ग्वंग, काशिराम विरस, रामशरण न्यौपाने, गुहेश्वरी शाक्य, सुलोचना सैंजु, राजेन्द्र चित्रकार, वसन्त नकर्मी, ईश्वर थोकर, अर्चना छुकाँ, वसन्ती भुजेल, सुरेन्द्रलाल भुजु, सुरेश राजभण्डारी, ग्रेसी पौडेल, नर्मदा भुषाल, बिनोद खड्का, नविन प्रकाश श्रेष्ठ, तुलसीहरि प्रजापती, धनेश राजोपाध्याय, इभा लम्साल, मिमला शर्मा, अनुषा घले, विभिता घिमिरे, श्रेणी मानन्धर, श्रीबहादुर केसी, सुरेन्द्र व्यान्जु, रूबी पंगेनी, तपस्या वाग्ले, कुसुम घिमिरे, अमर आकाश, रिचा सुवाल, सन्देश शाही, स्नेहा खनाल, योगी स्यस्य, विनिता पोखरेल, सुयषी मोक्तान, दीपशिखा थापा, दीवश्री ढुंगाना, आरूषी धमला, आराध्या भुजु र धन कुमार श्रेष्ठले आ-आफ्ना रचना वाचन गर्नुभएकाे थियाे।

कार्यक्रमको बीचबीचमा संस्कृतिविद् हरिशरण शर्मा राजोपाध्यायले असारे दही च्युराको सांस्कृतिक महत्वबारे सम्बोधन गर्नुभएको थियो भने युवा सचिन मल्लले बाँसुरीको सुमधुर धुन प्रस्तुत गरेर उपस्थितलाई मन्त्रमुग्ध बनाउनुभएकाे थियाे ।

भसासको नियमित घुमन्ते श्रृङ्खलाको ७७ औँ संस्करणको रूपमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले यस्ता साहित्यिक गतिविधिले बालबालिकामा सिर्जनात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। स्कुलकी शिक्षिका नर्मदा भुषालले कार्यक्रम सफल बनाउन सबैको सामूहिक प्रयासको सराहना गर्नुभयो।

भसासका अध्यक्ष राजुराम मुनंकर्मीले समाजको २५ औँ रजत महोत्सवका अवसरमा भइरहेका गतिविधिहरूलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताउँदै एभरेष्ट इङ्गलिश स्कूल परिवारलाई कार्यक्रम व्यवस्थापनमा सहयोग गरेकोमा कदरपत्र प्रदान गर्नुभएकाे थियाे ।