स्याङ्जा । फापरथुम–६ स्थित आनन्द आश्रममा आदिकवि भानुभक्त आचार्यको सम्मानमा २१२औँ भानु जयन्ती सम्पन्न भएको छ । आनन्द भवनको टुल्की नन्दकला सभा कक्षमा आयोजित उक्त कार्यक्रमको आयोजना आनन्द आश्रम ज्ञान केन्द्रले गरेको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष इन्जिनियर ओम शर्माले गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष तथा प्रद्युम्न पनेरु माविका प्रधानाध्यापक दीप्तिनारायण शर्माले अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा कवि चिन्तु गिरी उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ब्यानर पढेर उद्घाटन गर्ने कार्य प्रमुख अतिथिले गर्नुभएको थियो । उहाँले भन्नुभयो, “भानुभक्त आचार्य नेपाली भाषा आन्दोलनका अगुवा हुनुहुन्छ । उहाँले अपमान र जेलको कठिन बाटो पार गर्दै छन्द कविता र रामायण लेखनमार्फत नेपाली भाषामा सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्नुभएको हो । सहरका सभाकक्षहरूमा मात्र होइन, अहिले भानुभक्त गाउँगाउँका आनन्द आश्रम जस्ता क्षेत्रहरूमा समेत यात्रारत हुनुहुन्छ ।” प्रमुख अतिथिले कार्यक्रमका बीचमा निकै सगर्भित छन्दबद्ध कविता पनि सुनाउनुभएको थियो ।
अतिथि तथा कवि, त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक हिमलाल पुरीले भन्नुभयो, “भानुभक्तका पाइलाहरू पछ्याउँदै हामी यहाँसम्म आइपुगेका छौँ । २०० वर्षअघि जन्मिनुभएको भानुभक्तले नेपाली भाषामार्फत हामीलाई उत्साहित बनाउनुभएको छ ।” उहाँले भानुभक्तको सम्झनामा मिठो कविता पनि वाचन गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी सिखा सुनारको कविता वाचनले सभा हललाई आकर्षित गरेको थियो । विद्यार्थी सबिन जिटीले वाचन गर्नुभएको कथा र कविता पनि उल्लेखनीय थिए । साथै, बिनिता जिटी, सूर्य जिटी, शेपत सिरानचौर माविका प्रधानाध्यापक तथा संस्थाका सदस्य ख्यामनारायण लामिछानेद्वारा कविता र गजल प्रस्तुत गरिनुका साथै कवि उमाकान्त पोखरेलका कविता पनि निकै सशक्त थिए । फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजंग बिसीले भानुभक्तको योगदान र आनन्द आश्रमको चर्चा गर्दै मधुर कविता प्रस्तुत गर्नुभएको थियो ।
आनन्द आश्रमका सल्लाहकार तथा माविका पूर्व प्रधानाध्यापक टिकाराम ढकाल, माविका शिक्षक तथा संस्थाका सदस्य इन्द्रमणि ढकाल, संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालहरूले भानुभक्त आचार्यले भाषा आन्दोलनमा पुर्याउनुभएको योगदानबारे चर्चा गर्दै नयाँ सिर्जनाहरूको माध्यमबाट आदिकविलाई सम्मान गर्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा शारदा मन्दिर माविका प्रधानाध्यापक दोलराज ढकालले गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 




