पोखरा । पोखरेली कवि लक्ष्मी थापाले आफ्नो नवीनतम कवितासङ्ग्रह ‘मौन सुस्केरा’मार्फत सामाजिक विकृति र विसङ्गतिमाथि कडा प्रहार गर्नुभएकाे छ। सामाजिक परिवर्तन र समतामूलक समाजको पक्षमा उहाँले कवितामा विद्रोही स्वर व्यक्त गर्नुभएकाे हाे ।
हालै पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले ‘मौन सुस्केरा’को लोकार्पण गर्नुभएकाे थियाे । सो अवसरमा कवि सञ्जीव पौडेलले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे भने हरिदेवी कोइराला, पद्यराज ढकाल र रमेश श्रेष्ठले लक्ष्मी थापाको कविताको प्रशंसा गर्नुभएकाे थियाे ।
पोखराको नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त कविताकृति तीन खण्डमा विभाजित छ । ‘आधा आकाश’ खण्डमा १८ ओटा, ‘माटो र मुटु’ खण्डमा १३ ओटा र ‘समाज र संवेदना’ खण्डमा १९ ओटा कविता समेटिएका छन् । सबै कविता सामयिक, चोटिला र पठनीय छन् । कृतिको मूल्य रु दुइ सय ५१ राखिएको छ ।
कास्कीको रुपाकोट गाउँपालिकामा जन्मिएकी थापा तीन दशकभन्दा बढी समयदेखि कविताकर्ममा सक्रिय हुनुहुन्छ । उहाँले नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएकाे छ ‘साहित्य सृङ्खला पोखरा’ र ‘नारी प्रतिभा वाङ्मय प्रतिष्ठान’मा आबद्ध हुनुहुन्छ । ‘गण्डकी प्रज्ञा प्रोत्साहन सम्मान’ लगायतका पुरस्कार प्राप्त गर्नुभएकी थापा हाल पोखरामै बसोबास गर्दै शिक्षण पेशामा संलग्न हुनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










