खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं.२०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको छ ।  साहित्यमा पद्मश्रीलाई मदन पुरस्कारपछिको महत्वपूर्ण पुरस्कार मानिन्छ ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको छ । उपन्यासमा मानिस अफैँले बनाएको जालमा कसरी फसिरहेको र त्यसको बोझले थिचिरहेको छ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट लेखकले प्रस्तुत गरेका छन् ।

पुस्तक पाठकले पनि असाध्यै रूचाएका थिए ।

त्यसैगरि यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ । विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान गरिएको बताइएको छ । उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन लाख रहेको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठाका अध्यक्ष जीवा लामिछानेले प्रेश विज्ञप्तीमार्फत जनाएका छन् ।

वि.स. २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने जनाइएको छ ।