नेपालको पहिलो साहित्यिक (इ) दैनिक साहित्यपोस्टले एप सार्वजनिक गरेको छ । असार १५ गते, एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा आयोजित एक कार्यक्रमका बीच साहित्यपोस्टको एप सार्वजनिक गरिएको हो ।

कार्यक्रममा लेखक तथा पत्रकार अच्युत कोइरालाले साहित्यपोस्टका गतिविधिका साथै एपमा बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले एपमा उपलब्ध सामाग्री, एप डाउनलोड तथा वार्षिक ग्राहक बन्ने तरिकाका बारेमा विस्तृतमा बताउनुभयो ।

‘लामो समय प्रयास र मिहिनेत पश्चात् अन्ततः हामी साहित्यपोस्टको एप सार्वजनिक गर्न सफल भएका छौं ।’, कोइरालाले भन्नुभयो, ‘यस तपाईंले प्ले-स्टोर तथा एप्पल–स्टोरमा सजिलै प्राप्त गर्नसक्नु हुनेछ । एक हजार तिरेर वार्षिक ग्राहक बनिसकेपछि तपाईंहरूले सहजसँग एक हजारभन्दा बढी नेपाली तथा अन्य भाषाका अनूदित पुस्तक तथा श्रव्य–पुस्तक पढ्न र सुन्न सक्नु हुनेछ ।’

‘अब हत्केलामा नेपाली साहित्य’ स्लोगनका साथ शुरु भएको साहित्यपोस्ट एपमा एक हजारभन्दा धेरै नेपाली तथा अनूदित पुस्तक तथा श्रव्य–पुस्तक उपलब्ध छन् । साहित्यपोस्टको वार्षिक ग्राहक हुन् नेपालका लागि एक हजार नेपाली रुपियाँ शुल्क तोकिएको छ । त्यस्तै, डायस्पोराका लागि वार्षिक शुल्क एक सय अमेरिकी डलर रहेको छ ।

साहित्यपोस्टले स्थापनाकालबाटै लिएको महत्त्वकांक्षी योजनाले अन्ततः मूर्त रुप लिएको साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइरालले बताउनुभयो ।

‘साहित्यपोस्टको स्थापनाबाटै नेपाली साहित्यका पुस्तकहरूको इ–लाइब्रेरीका रूपमा साहित्यपोस्ट एप सञ्चालनमा ल्याउने योजना बनाएको थियौं । पाँच वर्षको मिहिनेत र लगनबाट अन्ततः यो योजना सफल बनेको छ ।’, प्रधान–सम्पादक कोइरालले बताउनुभयो, ‘साहित्यपोस्ट एपले विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई नेपाली साहित्यका पुस्तकको अध्ययनमा सहज पहुँच प्रदान गर्नेछ । अहिले प्रिन्ट संस्करणबाट लगभग दुर्लब बनिसकेका पुस्तकहरू समेत यस एपमा उपलब्ध हुनेछन् । साथै, कम शुल्कमा स्तरीय नेपाली पुस्तकहरू उपलब्ध हुने भएकाले यो एपबाट नेपाली पुस्तकका पाठकहरू लाभान्वित हुनेछन् ।’

प्रधान–सम्पादक कोइरालाका अनुसार पुस्तक पढिएका आधारमा लेखक कविहरूलाई लेखस्व प्रदान गरिनेछ । साथै, प्रत्येक वर्ष सबैभन्दा धेरै पुस्तक पढ्ने पाठकलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।

पठन संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्य राखी विगत पाँच वर्षदेखि साहित्यपोस्ट सञ्चालनमा छ । साहित्यपोस्ट एपले यो उद्देश्यलाई थप एक तह माथि पुर्याउने विश्वास साहित्यपोस्टले लिएको छ ।

निकट भविष्यमै विद्यालय तथा विद्यार्थीहरुलाई लक्षित गरी विशेष योजना ल्याइने पनि साहित्यपोस्टले जनाएको छ ।

साहित्यपोस्ट एप एन्ड्रोएड तथा एप्पल दुवै भर्सनमा उपलब्ध छ ।