आख्यानकार गगनसिंह थापाको छैटाैँ कृति महाप्रलयको आज विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा प्रसाद उप्रेतीले साहित्यकार थापाको छैटाैँ कृति महाप्रलयको आज भर्चुअल विमोचन गरे ।

महाप्रलयको भर्चुअल लोकार्पण गर्दै उप्रेतीले नेपाली आख्यान क्षेत्रमा महाप्रलय विशिष्ट कृति भएको चर्चा गरे । “आख्यान भनेको विराट जीवनको प्रस्तुती गर्ने कला हो”, कृतिमाथि चर्चा गर्दै उप्रेतीले भने, “महाप्रलयमा आख्यानकार थापाले विराट जीवनलाई सुन्तुलित ढंगले पस्किनुभएको छ । त्यस कारण पनि यो कृति अरू आख्यानकारका कृतिभन्दा विशिष्ट छ । नेपाल बहुभूगोल, बहुसंस्कृतिबाट बनेको छ । कुनै एक क्षेत्रको सभ्यता र संस्कृतिको उठानबाट त्यो देशका सबै भूगोलमा बस्नेहरुको प्रतिनिधित्व हुँदैन ।”

कृतिमाथि समीक्षा गर्दै साहित्यकार डा. रजनी काफ्ले ढकालले थापाको कृति साहित्यकार मदनमणि दीक्षितको माधवी झैँ फराकिलो र स्वैरकल्पना गर्न सक्ने अद्भुत कला र शब्द शिल्पीको उत्कृष्ट काव्य भएको बताइन । उनले कर्णालीबाट शुरु भएको आख्यानकार थापाको महाप्रलयले संसारको यात्रा गराएको बताइन । उनले भनिन, “कर्णालीको सेरोफेराबाट शुरु भएको यो कथा विश्वको फन्को मारेर कर्णालीकै छेउमा आएर टुङ्गिन्छ । महाप्रलयका मूल पात्र विजेता र अक्षताको प्रेमिल जोडी स्वयं सिद्धी तथा अलौकिक क्षमता भएका पात्रका रुपमा देखाइएका छन् । जो मानवीय हीतमा समर्पित छन् ।”

आख्यानकार गगनसिंह थापाले महाप्रलयको रचनाका सन्दर्भमा अल्वर्ट आईन्सान्टाईनमा एक पत्रकारले गरेको जिज्ञासाको प्रसंग जोड्दै भने, “महाप्रलय तिनै मानवता र माया नभएका दम्भी र अहमता भएका शक्ति राष्ट्रको अहंकार र उन्मादबाट निम्तिएको परिणामको चित्रण हो ।” उनले आख्यानकार थापाले शक्ति राष्ट्रहरुको दम्भ र अहमताले महाप्रलय भएको र संसार रित्तिएको बताए ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा . डा. जगतप्रसाद उपाध्याय महाप्रलय उपन्यासलाई महाउपन्यास र महाआख्यानको संज्ञा दिए । उनले भने, “यस कृतिले समेत विराट जीवनलाई उपन्यास होइन । महाउपन्यास र महाआख्यान भन्न मन लाग्यो ।”

मदनपुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले आख्यानकार थापाको उर्जा र साहित्यिक लेखन सबैका लागि प्रेरणादायी भएको बताए । शाहले भने, “उहाँले जीवनको अधिकांश समय राजनीति र समाजसेवामा बिताउनु भयो । २०३६ सालमा सहलेखनमा पहिलो साहित्यिक कृति प्रकाशन गरेको ३४ वर्षपछि उहाँको साहित्यमा पुनरागमन भयो, सायद उहाँलाई लाग्यो कि राजनीति मेरो क्षेत्र होइन । साहित्यकार थापाको सक्रियता, साहित्यप्रतिको लगावले उमेरले सृजनालाई छेक्न सक्दो रहनेछ भन्ने सन्देश दिएको छ ।”

प्रा.डा. पौडेलले खसान र जडान क्षेत्रको सभ्यता, इतिहास र यसको महत्वलाई कुशलता पूर्वक महाप्रलयमा समेटिएको बताए । आख्यानकार थापाको भाषिक र गद्य लेखनको कला बेजोड भएको चर्चा गर्दै प्रा.डा. पौडेलले प्रेमका सन्दर्भहरूलाई आख्यानकार थापाले उच्च किसिमले प्रस्तुत गरेको बताए ।

आख्यानकार थापाका राजनैतिक सहयोद्धा तथा संघीय संसद सदस्य रामबहादुर बिष्टले बीपी कोइरालाले भने झैँ गगनसिंह थापाभित्र पनि दुइटा पाटा रहेको बताए । बिष्टले भने, “पूरै जीवन राजनीति र समाजसेवामा समर्पित गरेका थापाले जीवनको उत्तरार्धमा उत्कृष्ट साहित्यक सृजना गरेर आफूभित्र दुइवटा पाटा रहेको स्पष्ट पारेका छन् । उहाँले पुरै जीवन राजनीति र समाजसेवामा समर्पित गरेर जीवनको उत्तरार्ध उत्कृष्ट साहित्य सृजनामार्फत समाजलाई पुनः गुन लगाएको भएको छ ।”

साहित्यकार जीवा लामिछानेले आख्यानकार थापाले आफ्ना कृतिमा आञ्चलिकता र कर्णाली किनारका सुदूरबस्तीको जनजीवनका पाटाहरुलाई सरल तरिकाले प्रस्तुत गरेको बताए ।

भर्चुअल लोकार्पण कार्यक्रमको सञ्चालन कवि रमेश पौडेलले गरेका थिए । नेपाल अफ्रिका साहित्य समाजका अध्यक्ष तथा आख्यानकार थापाका पुत्र हिक्मत थापाको अध्यक्षतामा सम्पन्न भएको भर्चुअल लोकार्पण कार्यक्रममा संसारका विभिन्न देशबाट साहित्यकार, साहित्यअनुरागी तथा आख्यानकार थापाका परिवारजन तथा शुभेच्छुकहरु समेत सहभागी थिए ।

२००५ सालमा अछामको दर्ना पाटेखेतमा जन्मिएका आख्यानकार थापाका छवटा कृति प्रकाशित छन् । वि.स. २०३६ सालमा सहलेखनमा थापाको पहिलो कृति सोह्र सौगात प्रकाशित भयो । ३४ वर्षपछि २०७० सालमा कर्णालीको छेउछाउ, २०७२ सालमा पुर्खाको चिठ्ठी, २०७४ सालमा मधुशाला, २०७६ मा उज्जली प्रकाशित भयो । महाप्रलय थापाको छैटौँ कृति हो ।

सांग्रिला बुक्सले प्रकाशन गरेको महाप्रलय आवरणसहित चार सय ८६ पृष्ठको रहेको छ ।