काठमाडौँ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जेठ ३० गते शुक्रबार पुलिस क्लबमा ‘राष्ट्रिय संगीत तथा नाट्य उत्सव २०२८२’ आयोजना गर्ने भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएकाे थियाे ।
महोत्सवमा ७ प्रदेशका मौलिक गीतसङ्गीत, नृत्य र नाटक प्रस्तुत हुने जनाइएको छ । कुलपति निशा शर्माले उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति हुने बताउनुभयाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उत्सवको उद्घाटन गर्ने तालिका रहेकाे छ । उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थीलाई सहभागी गराइने संयोजक तथा उपकुलपति शम्भु राईले जानकारी दिनुभयाे ।
सदस्यसचिव कुश्मा महराले उत्सवमा कोशी प्रदेशबाट आठपहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा), गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूर पश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने जानकारी दिनुभयाे ।
उत्सवमा लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो ?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाट्यमञ्चन समेत गरिने जानकारी दिइयो । उत्सव दिउँसो १ः३० बजे सुरु हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
‘सङ्गीत तथा नाट्य उत्सव’मा, सात प्रदेशका मौलिक नृत्य प्रस्तुत गरिने
१ मंसिर २०८२, सोमबार 







