काठमाडौं — लघुकथा लेखनमा सक्रिय स्रष्टा गङ्गा खड्काका नयाँ र पुराना सिर्जनामाथि ‘स्रष्टा मिलन – गंगबूँ’द्वारा आयोजित कार्यक्रममा अन्तरङ्ग विमर्श गरिएको छ। कार्यक्रम राजधानीको ‘द लङ्का क्याफे’, वसुन्धरामा सम्पन्न भएको थियो।
कार्यक्रममा गङ्गा खड्काको लघुकथासङ्ग्रह ‘झङ्कार’ मा समावेश कथाहरू माथि साहित्यिक विमर्श, वाचन र समीक्षात्मक टिप्पणीहरू प्रस्तुत गरिएका थिए। लघुकथाकार एन्जल निलुले खड्काको ‘रहस्य’ कथा वाचन गर्नुभयाे ।उक्त कथामाथि ध्रुवराज थापाले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै तारा के.सी.ले कथा ‘समय’ वाचन गर्नुभयाे, जसमा विवेक गौतमले कथाको सन्देश र प्रभावमाथि विचार राख्नुभएकाे थियाे ।
सर्जक गङ्गा खड्काले आफ्नै कथा ‘शक्ति’ वाचन गर्नुभएकाे थियाे । त्यस कथामाथि कुमुद शर्मा प्याकुरेलले मन्तव्य दिँदै भन्नुभयाे “गङ्गाका कथाहरू रसिला, चोटिला र यथार्थपरक छन्। भाषाशैलीमा अझ ध्यान दिए अझ उत्कृष्ट बन्न सक्छन्।”
साहित्यकार/पत्रकार उमेश पाण्डेले खड्कालाई सशक्त नारी स्रष्टा भन्दै सरल भाषामा सामाजिक यथार्थ पस्किन सक्ने लेखिका भनेर प्रशंसा गर्नुभएकाे थियाे । मनोहर पोखरेल (लघुकथा प्रतिष्ठान नेपाल) ले भन्नुभयाे “स्रष्टालाई उसको सिर्जनाले चिनिनुपर्छ। गङ्गाका कथाहरू पाठकमा लोकप्रिय भइरहेका छन्।” डा. शैलेन्दुप्रकाश नेपालले गङ्गाको कथा लेखनले उनको व्यक्तित्वलाई उचो बनाएको उल्लेख गर्दै, नेपाली लघुकथामा गुणात्मक पक्ष कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयाे ।
कार्यक्रमका सञ्चालक दीपक लोहनीले गङ्गाको लघुकथामा परिवारभित्रको नारी मनोविज्ञान सशक्त रूपमा प्रस्तुत भएको बताउनुभयाे ।
कार्यक्रमको अन्त्यमा गङ्गा खड्काले भन्नुभयाे “आजका सुझाव र सल्लाहहरूले मलाई आगामी सिर्जना परिस्कृत गर्न मद्दत पुर्याउनेछ। यी विचारहरूलाई अक्षरसः अनुसरण गर्नेछु।”
‘स्रष्टा मिलन’ ले ताली मात्र होइन, सबैलाई बोल्ने मौका दिने नयाँ अभ्यासको थालनी गरेको छ, जसले सहभागी सबैलाई वक्ता र समीक्षक बन्ने अवसर दिएको आयोजकहरूले बताउनुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ माघ २०८२, मंगलवार 









