काठमाडौं — कविता र कथा लेखनमा सक्रिय युवा साहित्यकार मधुसुदन घिमिरेलाई ‘फुलब्राइट इनोभेटर्स फर चेन्ज फण्ड’ अन्तर्गत एक लाख रुपैयाँको अवार्ड प्रदान गरिएको छ।
महाराजगञ्जस्थित युसेफ नेपालमा आयोजित एक कार्यक्रममा घिमिरेलाई यस प्रतिष्ठित फण्ड अन्तर्गत नगद सम्मान प्रदान गरिएको हो। ‘मायाको आयतन’ कविता कृतिबाट नेपाली साहित्यमा छुट्टै पहिचान बनाउनुभएकाे घिमिरे
हालै प्रस्तावित समावेशी रेडियो नाटक परियोजनाका लागि यो फण्ड प्राप्त गर्न सफल हुनुभएकाे हाे । उक्त परियोजनाको उद्देश्य मानसिक स्वास्थ्य र अपाङ्गता सम्बन्धी जनचेतना प्रवर्द्धन गर्नु रहेको छ।
घिमिरेले आफ्नो परियोजनाको विस्तृत प्रस्तुतीकरण दिएपछि, सर्टलिस्टमा पर्न सफल भई प्रथम स्थान हासिल गर्नुभएकाे हाे । त्यसकै आधारमा उहाँलाइ एक लाख रुपैयाँ सहितको अवार्डका लागि चयन गरिएकाे हाे ।
फुलब्राइट अल्मुनाई एसोसिएसन अफ नेपाल (FAAN) द्वारा सञ्चालित यो फण्ड समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवप्रवर्तनशील परियोजनाहरूका लागि प्रदान गरिन्छ।
विशेषतः सामाजिक रुपान्तरण सम्भावना बोकेका, फुलब्राइट पूर्व विद्यार्थीहरूद्वारा अगुवाइ गरिएका, र नेपालमा असर पार्न सक्ने प्रभावकारी परियोजनाहरूले यस अन्तर्गत सहयोग पाउँछन्।
मधुसुदन घिमिरे सन् २०२३ मा अमेरिकाको मिसौरी स्टेट युनिभर्सिटीमा एक सेमेस्टर अध्ययन गरी नेपाल फर्किनुभएकाे थियाे । समाज सेवामै आफ्नो ज्ञान र सीप लगाउने प्रतिबद्धतासहित, उहाँले फुलब्राइट फण्डप्रति गहिरो आभार व्यक्त गर्दै भन्नुभयाे, “यो फण्डले समावेशी रेडियो नाटक निर्माण र जनचेतना प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










