अमेरिका । नेपाली भाषा, साहित्य र शिक्षामा अतुलनीय योगदान पुर्‍याउनुभएकाे  साहित्यकार, भाषाविद् तथा शिक्षाविद् गोपाल पाँडे ‘असीम’ को ११२औं स्मृति दिवस श्रद्धापूर्वक सम्पन्न गरिएको छ।

अमेरिकास्थित साहित्यिक संस्था अनेसास केन्टकी च्याप्टरद्वारा आयोजना गरिएको कार्यक्रम अनलाइन जुममार्फत  सम्पन्न भएको हो।

कार्यक्रमको सभापतित्व अनेसास केन्टकी च्याप्टरका अध्यक्ष बद्री दाहालले गर्नुभएकाे थियाे भने सञ्चालन सचिव जीवन निरौलाले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष जमुना पौड्यालले राख्नुभएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. गंगा उप्रेती रहनुभएकाे थियाे । साथै विशिष्ट अतिथिहरूमा पूर्वराजदूत प्रा. डा. मोहन लोहनी,  साहित्यकार प्रा. पिताम्बर दाहाल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बाल समितिका संयोजक सुरेन उप्रेती, गोपाल पाँडेका सुपुत्रीहरू प्रा. रमा शर्मा र इन्दिरा शर्मा, पूर्व अध्यक्ष मोहन सिटौला, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, डा. बमबहादुर थापा ‘जिताली’, छन्दकवि रमेश खकुरेल, प्रल्हाद पोखरेल, कवि प्रभा भट्टराई र ज्ञाननिष्ठ ज्ञवालीको उपस्थिति  रहेकाे थियाे ।

वक्ताहरूले गोपाल पाँडे ‘असीम’को व्यक्तित्व, कृतित्व, र नेपाली शिक्षामा उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएकाे थियाे । विचार राख्ने वक्ताहरूमा होमनाथ सुवेदी, सुरेन उप्रेती, डमरु पौडेल, पिताम्बर दाहाल, मोहन लोहनी, सर्वज्ञ वाग्ले, इन्दिरा शर्मा, ज्ञाननिष्ठ ज्ञवाली, मोहन सिटौला, रमा शर्मा, गङ्गा उप्रेती र बद्री दाहाल रहनुभएकाे थियाे ।

कार्यक्रममा साहित्यकार प्रल्हाद पोखरेलले गोपाल पाँडे ‘असीम’प्रति समर्पित रचना वाचन गर्नुभएकाे थियाे ।

अनेसास केन्टकी च्याप्टरले स्मृति दिवसलाई असीमको योगदानको सम्मानस्वरूप मनाउनुका साथै भावी पुस्तालाई प्रेरणा दिने प्रयास गरिएको जनाएको छ।