काठमाडौं । शिल्पी थिएटरको नाटक ‘लस्ट एण्ड फाउण्ड’ युरोप भ्रमणमा निस्कने भएको छ।
८ जुलाई देखि १५ अगष्ट सम्म चल्ने यस भ्रमणमा जर्मनीका पाँच, डेनमार्कका दुई र स्वीडेनका दुई शहरमा नाटकको प्रस्तुति गरिनेछ। ३९ दिन लामो यस भ्रमणमा ४ वटा कार्यशाला र ९ वटा नाटक प्रदर्शन हुनेछन्।
नाटक हाल शिल्पी थिएटरमा मञ्चन भइरहेको छ र दर्शकको अत्यधिक मागका कारण यसको मञ्चन अवधि लम्ब्याइ २४ जेठ सम्म पुर्याइएको छ। यस नाटकले यशोधरा र सिद्धार्थ बीचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाले हुर्काएका सन्तानमाथि राज्यले गर्ने विभेद जस्ता समसामयिक विषयलाई उठान गरेको छ। पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय रहेको यस नाटकमा २५ वर्षीया भूमि र ४८ वर्षीय सागर मुख्य पात्र हुन्।
एकल आमाले हुर्काएकी अनागरिक युवती भूमि र क्यानडाबाट फर्किएका, दाम्पत्य जीवनमा असन्तुष्ट सागरको कथाबाट सुरु हुने यो नाटकले वर्तमान परिवेशलाई विगतसँग जोड्ने प्रयास गरेको छ। निर्देशक घिमिरे युवराजले २६ सय वर्ष अगाडिको बुद्धकालीन जीवनशैली र वर्तमान समाजको सान्दर्भिकतालाई उजागर गर्दै पितृसत्ताको बलियो उपस्थिति र यसको ऐतिहासिक निरन्तरतालाई नाटकमा देखाउन खोज्नुभएकाे छ ।
‘लस्ट एण्ड फाउण्ड’ जर्मनीको फ्र्यांकफर्टमा आयोजना हुने प्रोटागोन इन्टरनेशनल पर्फर्मिङ आर्ट्समा छनोट भएको छ र सोही फेस्टिभलमा मञ्चन हुनेछ। पछिल्ला वर्षहरूमा नेपाली नाटकहरू युरोपेली मुलुकहरूमा मञ्चन हुने क्रम बढ्दो छ र ‘लस्ट एण्ड फाउण्ड’ यसको अर्को उदाहरण हो। यसले नेपाली नाटकको अन्तर्राष्ट्रिय स्तरमा फैलिँदै गरेको उपस्थितिलाई थप बलियो बनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 




