लमही । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल लुम्बिनी प्रदेशले प्रगतिशील साहित्यिक आन्दोलनलाई थप सशक्त र संगठित बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ। लमहीस्थित सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले आगामी दिनमा विचार, सृजनाशीलता र संगठनात्मक संरचनालाई केन्द्रमा राखेर आफ्नो यात्रा अघि बढाउने निर्णय गरेको छ।

बैठकले आगामी तीन वर्षे कार्ययोजना तय गरेको छ जसमा साहित्य गोष्ठी, बहस, सृजनात्मक लेखन अभिवृद्धि, प्रशिक्षण र संगठन विस्तार जस्ता कार्यक्रम समावेश छन्। प्रलेस लुम्बिनीका अध्यक्ष डा. मुरारी पराजुलीले सर्जकलाई सक्षम र संगठनलाई सबल बनाउने उद्देश्यले विभिन्न तहमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयाे । उहाँले विचार र सृजनालाई जोड्दै साहित्यलाई जनजीवनसँग जोड्ने कुरामा प्रलेस लुम्बिनीको जोड रहने बताउनुभयाे ।

तेस्रो अधिवेशनपछि बसेको यस पहिलो बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ। पद्मप्रसाद शर्मा, केशव थापा, पंकज कुमार श्रेष्ठ, दलबहादुर गुरुङ, डा. हरिप्रसाद भण्डारी र शशिराम कार्कीलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। त्यसैगरी, रिक्त सदस्य पदमा छविलाल पाठक, गुरुप्रसाद कुमाल ‘बुलबुल’ र हरिप्रसाद जोशीलाई चयन गरिएको छ।

डा. पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रलेस केन्द्रिय सचिव डा. हरिप्रसाद तिमिल्सिना र सदस्य रामप्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो। बैठकले आगामी दिनमा प्रगतिशील साहित्यको विकास र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।