इलाम । कवि कविता राई ‘गाउँले’ को पहिलो कवितासंग्रह ‘फाटकमा घाम’ को विमोचन इलामको फिक्कलमा सम्पन्न भएको छ। २०४८ सालदेखि कविता लेखनमा सक्रिय गाउँलेको यस कृतिमा ४९ वटा कविता समावेश छन्।
विमोचन कार्यक्रममा कवि मनप्रसाद सुब्बा, प्राज्ञ राजन मुकारुङ र स्वयं कवि गाउँलेले पुस्तकको लोकार्पण गर्नुभएकाे थियाे । प्रमुख अतिथि सुब्बाले पुस्तकमा जनजीविकाका सवाललाई मार्मिक ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै यसलाई विशेष कृति भन्नुभएकाे छ । उहाँले भन्नुभयाे, “कविले फाटकका घाममा जनजीविकाका सवाल बडो मज्जाले ल्याउनुभएको छ, यही कारण यो कवितासंग्रह विशेष बनेको छ।”
सिक्किमका कवि प्रवीण खालिङले कवि गाउँलेका कविता आफ्नै घरभित्रका कथा जस्तै लाग्ने प्रतिक्रिया दिनुभयाे । उहाँले नारीवादी धारका कविता भएतापनि कुनै पनि किसिमको उग्रता नरहेको र बिम्बको रुपमा मौसम, डाँडाकाँडा र ढुंगालाई प्रभावकारी ढंगले प्रयोग गरिएको बताउनुभयाे ।
कवितासंग्रहकी सर्जक गाउँलेले आफूले देखे, भोगे र अनुभव गरेका कुराहरुलाई सहज र सरल भाषामा कवितामा उतारेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “समाजका विभिन्न पक्षलाई समेटेर यो संग्रहको रुपमा प्रकाशन गरेको छु। पाठकले मन पराइदिनुहुन्छ भन्नेमा म विश्वस्त छु।”
विमोचन कार्यक्रममा कवि देवान किराती, बिमल बैद्य, कृष्ण बराल लगायतले कविता वाचन गर्नुभएकाे थियाे । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको यस कवितासंग्रहले पाठकहरुको मन जित्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२ माघ २०८२, शुक्रबार 









