मोरङ । विश्वविख्यात साहित्यकार रवीन्द्रनाथ टैगोरका दुई चर्चित कृति ‘गीताञ्जली’ र ‘कठोपनिषद्’ को नेपाली अनुवाद विराटनगरमा लोकार्पण भएको छ।
खोटाङ सेवा मञ्चको आयोजनामा प्रा.डा. मेदिनीप्रसाद शर्माद्वारा अनुवादित यी दुई कृतिहरूको लोकार्पण समारोहमा साहित्यकार तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी, अग्रज साहित्यकार कविराज न्यौपाने, प्रा. कृष्णप्रसाद पोखरेल, प्रा.डा. मीनराज ढकाल, प्रा.डा. हरिहर भण्डारी, प्राज्ञ खेम नेपाली लगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्याे । भवानीप्रसाद पोखरेल, केशु विरही, दिनेशराज सुवेदी, पुष्पा सायरा, शारदा भट्टराई, लक्ष्मी रायमाझी, चूडामणि घिमिरे, नवराज पोखरेल ‘नवशिला’, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने लगायतका धेरै स्रष्टाहरूको पनि उपस्थितिले कार्यक्रमलाई रौनक थपेको थियो।
लोकार्पित कृतिहरूको समीक्षात्मक टिप्पणी गर्दै विद्वान् विपुलेन्द्र चक्रवर्ती र प्रा.डा. चक्रपाणि खनालले विश्व साहित्यसँग नेपाली साहित्यको सम्बन्धलाई सुदृढ बनाउन यस्ता अनुवाद कृतिहरूले महत्वपूर्ण योगदान गर्ने धारणा राख्नुभयाे । उहाँहरूले विश्व प्रसिद्ध कृतिहरूको नेपालीमा अनुवाद तथा रूपान्तरण गर्नु निकै गहन कार्य भएकोमा प्रशंसा गर्नुभयो।
शुभकामना मन्तव्य राख्ने महानुभावहरूले नेपाली पाठकहरूका लागि यी दुवै कृतिहरूको सहज पहुँच हुनुलाई महत्वपूर्ण उपलब्धि भन्दै अनुवादक प्रा.डा. शर्माप्रति आभार व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य नानुमैया दाहालले राख्नुभएकाे थियाे भने खोटाङ सामाजिक सेवा मञ्चको भाषा साहित्य कला उन्नयन उपसमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी पोखरेलले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 










