काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नवीनतम कृति ‘यात्राको लय’ माथि आयोजित परिचर्चा कार्यक्रममा साहित्यकारहरूबाट सराहना र सुझाव दुवैको वर्षा भएको छ ।
बौद्धस्थित उत्पला क्याफेमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका साहित्यकारहरूले कृतिको बहुआयामिक पक्षमाथि प्रकाश पार्नुभएकाे थियाे ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले पचासको दशकपछि नेपाली साहित्यमा नियात्रा लेखनले गति लिएको उल्लेख गर्दै सापकोटाको ‘यात्राको लय’ ले पाठकलाई यात्रामा सँगै डोर्याउने सामर्थ्य राखेको बताउनुभयाे । उहाँले सापकोटाले निजात्मक अनुभूति र भावनालाई स्थानीयतासँग जोडेर प्रस्तुत गरेको कुरालाई प्रशंसा गर्दै कृतिको शैलीमा थप उचाइ ल्याउन चुनौती पनि दिनुभयाे ।
नियात्राकार जय छाङ्छाले ‘यात्राको लय’ मार्फत सापकोटा आशावादी नियात्राकारको रूपमा स्थापित भएको बताउनुभयाे । उहाँले सिद्धान्त र बिम्ब विधान समावेश गरिएका नियात्राहरू बलिया हुने धारणा राख्दै नियात्राको वास्तविक मूल्यांकन पाठकको हृदयले गर्ने बताउनुभयाे । उहाँले सापकोटालाई आगामी दिनमा अझ उत्कृष्ट कृति लेख्न शुभकामना दिनुभयाे ।
निबन्धकार श्रीबाबु कार्कीले ‘यात्राको लय’ मा तत्कालीन द्वन्द्वकालको झल्को दिने नियात्राहरूको बाहुल्य रहेको तथा नेपाल भ्रमणकै परिधिमा रहनुलाई औँल्याउनुभयाे । उहाँले सापकोटाले आफ्नो मन छुने सुक्ष्म विवरणहरूलाई नियात्राको विषय बनाएको उल्लेख गर्दै उहाँको लेखन शैली लालित्यपूर्ण, अनुभूतिमय र पाठक आकर्षित गर्ने किसिमको रहेको प्रतिक्रिया दिनुभयाे ।
नियात्राकार पवन आलोकले ‘यात्राको लय’ पढेर आफूलाई मन छोएको प्रतिक्रिया दिनुभयाे भने राधेश्याम लेकालीले सापकोटालाई नियात्राकार र सञ्चारकर्मी दुवै क्षेत्रमा सक्षम पाएको बताउनुभयाे । डा. शैलेन्दुप्रकाश नेपालले पनि सापकोटाको लेखन शैलीको प्रशंसा गर्नुभयाे ।
नियात्राकार सापकोटाले रहरले लेखन सुरु गरे पनि अब थप जिम्मेवार भएर लेख्नु पर्ने महसुस गरेको बताउँदै उपस्थित सबैलाई धन्यवाद दिनुभयाे । कार्यक्रममा सुसेलीका प्रवर्द्धक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ ले सुसेली प्रस्तुत गर्नुभएकाे थियाे भने सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको सहजीकरण गर्नुभएकाे थियाे । कोषाध्यक्ष तारा केसीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ मंसिर २०८२, सोमबार 










