अदृश्य हावा – निद्रा देउजा ‘राजवंशी’
कवि निद्रा देउजा ‘राजवंशी’को कवितासंग्रह हो ‘अदृश्य हावा’ । देउजाको कविताहरुमा माया, प्रेम, दु:ख, असन्तुष्टि, समाजमा बढ्दै गएको विकृति, अन्याय, भ्रष्टाचार जस्ता विषय समेट्नुभएको छ ।
”हरेक सिर्जना आफैंमा अद्वितीय हुन्छन् । तर ग्रहण गर्ने जिम्मा भने पाठक वर्गको हो ।” माधव घिमिरे अटल लेख्नुहुन्छ, ”कुनै सिर्जना सही, गलत, प्रभावकारी वा प्रभावहीन भन्ने अधिकार मोलाहिजाबाट माथि उठेको पाठकले राख्छ भन्ने मेरो निजी ठहर छ । अपरिचित नै किन नहोस् अपितु इमानदार पाठकसँग पैरवी गर्ने भरपुर ल्याकत हुन्छ भन्ठान्छु म । कविता अर्थात् भाव र लयको सङ्गति भएको सशक्त विधा । सिङ्गो जीवनको साङ्गोपाङ्ग समालोचना । जीवनका अनुभव, अनुभूति र संवेदनाको सारांश । भनिन्छ, कविता सर्वाधिक लेखिने साहित्यिक विधा हो । अझ प्राचीन कालमा त साहित्य भन्नासाथ कवितालाई नै बुझिन्थ्यो । लेखनको प्रचलन प्रारम्भनहुँदासम्म कविताको पुस्तान्तरण मौखिक रूपमा भएको विभिन्न ऐतिहासिक ग्रन्थहरूले उल्लेख गरेका छन्, जसमा निकै हदसम्म सत्यता भेटिन्छ ।”
त्यसैगरी पुस्तकमा दिलकृष्ण प्रजापति लेख्नुहुन्छ, ”मान्छेका मनमा उठेका विविध भावनालाई व्यक्त गर्ने सजिलो र सहज माध्यम हो कविता
त्यसैले प्रायःजसो साहित्यकारहरूले आफ्नो लेखनको प्रारम्भ कविता लेखनबाट गरेका हुन्छन् । वास्तवमा कविता नै त्यो बाटो हो, जुन बाटो हिँडेपछि मनलाई एक प्रकारको सन्तुष्टि मिल्छ । व्यक्तिले सहजता र तनावबाट मुक्तिको बोध गर्छ । सम्भवतः यस्तै बोध भएको होला, निद्रा देउजालाई पनि । जीवनका विभिन्न क्षण, अवस्था र भोगाइहरूका बारेमा गीत, कविता, लेख, उपन्यास, गजल, मुक्तक आदि सिर्जना हुँदै आएका छन् । यसरी मनमा उठेका भावनाहरूलाई शब्दका रूपमा अभिव्यक्त गर्दा आत्मिक सुख प्राप्त हुने गरेको अनुभव मैले स्वयम् स्थापित स्रष्टाकै मुखबाट सुन्दै आएको छु ।”
त्यसैगरी पुस्तकमा कवि निद्रा देउजा राजवंशी लेख्नुहुन्छ, ”साहित्य मेरो मन पर्ने विषय हो । अझ कथा र कवितामा मेरो विशेष झुकाव रहेको छ । मैले केही कथा र संस्मरणहरू पनि रचना गरेकी छु । म साहित्यको विज्ञ होइन तसर्थ साहित्यको व्याख्या र विश्लेषण गर्ने तागत पनि ममा छैन भन्दा अप्ठेरो लाग्दैन । तथापि मेरो विचारमा साहित्य मानिसको आफ्नै भोगाइ हो । मानिसका मनमा अनेक प्रकारका भावनाहरू उर्लिरहेका हुन्छन् ।”
पुस्तकलाई सूचक प्रकाशनले बजारमा ल्याएको हो । ४९ ओटा कविता संग्रहित पुस्तकको मूल्य एक सय १५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 




