बालापनका धर्साहरू – आर्या त्रिपाठी
कवि आर्या त्रिपाठीको कवितासंग्रह हो ‘बालापनका धर्साहरू’ । आर्याको कवितामा बालसुलभ अभिव्यक्ति कला झल्कन्छ । उहाँका कवितामा अभिभावक, शिक्षक, विद्यालय, जन्मभूमि, देश, समाज, संस्कृति, प्रकृति, बालइच्छा, बालअधिकार, प्रकृति आदी विषय पाइन्छन ।
”आर्या त्रिपाठी किशोरावस्थामा पदार्पण गर्दै गरेकी एक पोखरेली प्रतिभा हुन् ।” पुस्तकमा सरुभक्त श्रेष्ठ लेख्नुहुन्छ, ”उनको आफ्नो उमेर सुहाउने गरी बालापनका धर्साहरु नामक कविता संग्रह प्रकाशित गरेकी छन् । यस कविता संग्रहमा उनले करिब एक दशकदेखि रचना गरेका कविताहरु संग्रहित गरेको छन् । हाल कक्षा ९ मा अध्ययनरत उनी चर्चित कविद्धय छन्दमणि त्रिपाठी र छन्दिका त्रिपाठीकी छोरी हुन् । उनका हजुरबा स्वनामधन्य महाकाव्यकार माधव वियोगी हुन् । आफ्ना हजुरबा माता र पिताबाट घरेलु वातावरणमा नै कविताको संस्कार पाएकी उनले कृति प्रकाशनको क्षेत्रमा पहिलो कदम चालेकी छन् जुन स्वागतयोग्य छ ।”
त्यसैगरी पुस्तकमा माधव वियोगी लेख्नुहुन्छ, ”प्रस्तुत कविता सङ्ग्रहमा ५ दर्जन कविता रहेका छन् । समसामयिक सन्दर्भ नै कविताका विषय बनेका छन् । बिग्रदो राजनीति, पारिवारिक सद्भाव, अग्रगामी भावना, देशभक्ति, शैक्षिक जागरण जस्ता विषयसन्दर्भमा रहेका यी कवितामा अधिक मात्रामा लोक लयात्मक शैली र केही अनुष्टुप् र उपजाति छन्दमा बांधिएका छन् । कलिलै उमेरमा छन्द या लयलाई समातेकाले काव्यसंस्कृतिको रक्षाका लागि उनी भविष्यमा अग्रपङ्क्तिमा रहनेछिन् भन्ने विशवास मलाई लागेको छ । साधना, सरसंगत र अध्ययनको दायरालाई अझै फराकिलो पार्दै खण्डकाव्य र महाकावयमा पनि उनको कलम सशक्त बनोस् भन्दै उत्तरोत्तर प्रगतिका लागि म नातिनी आर्यालाई हार्दिक शुभेच्दा प्रदान गर्दछु ।”
त्यसैगरी पुस्तकमा कवि आर्या त्रिपाठी लेख्नुहुन्छ, ”बालापनका धार्साहरू” मेरो पहिलो कवितासङ्ग्रह हो, जसमा मैले मेरो बाल्यकालका अनुभव, भावनाहरू, र समाजप्रति देखिएको दृष्टिकोणलाई कविताका माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरेकी छु । बाल्यकाल केवल उमेरको एउटा भाग मात्र होइन, यो हाम्रो सोच, सपनाहरू र व्यक्तित्व निर्माणको जग हाल्ने महत्त्वपूर्ण चरण हो। यही कुरालाई हृदयङ्गगम गरेर मैले यी कविताहरू लेखेकी छु । यस सङ्ग्रहमा ६० वटा कविता समावेश छन् जसले बाल्यकालको निष्कपट प्रेम, मित्रता, सपनाहरू, विडम्बनाहरू, आशा र कहिलेकाहीं अनुभव गरिने पीडालाई झल्काउने गर्छन्। बाल्यकालको मिठासलाई समेट्नका साथै मैले समाजमा रहेका केही यथार्थपरक पक्षहरूलाई पनि समेट्ने प्रयास गरेकी छु ।”
पुस्तकलाई माधव वियोगी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो । ६० ओटा कविता संग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 




