काठमाडौँ । डेढ दशकदेखि साहित्य समीक्षा लेखिरहनुभएकाे समीक्षक गुरुङ सुशान्तको कृति ‘इतर समीक्षा’ बिहीबार प्रज्ञाप्रतिष्ठानमा लोकार्पण भएकाे छ ।
१८औँ गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेकाे कार्यक्रममा खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नवीन सुब्बा, उज्ज्वल प्रसाईँ, डा. दोभान राई र लेखक स्वयम् शुसान्तले पुस्तककाे संयुक्त लाेकार्पण गर्नुभएकाे हाे ।
कार्यक्रम कवि शकुन्तला जोशीले सञ्चालन गर्नुभएकाे थियाे भने आख्यानकार कुमार नगरकोटीले जीवनका विविध आयाम झल्कने दुई कविता वाचन गर्नुभएकाे थियाे । नगरकोटीले ‘इतर समीक्षा’ लाई शुभकामना दिनुभएकाे थियाे ।
लेखक खगेन्द्र संग्रौलाले ‘इतर समीक्षा’ लाई समीक्षाको नयाँ आविष्कार भएको बताउँदै कमजोर समीक्षा लेखनको परिप्रेक्ष्यमा यसले देखाएको साहसलाई प्रशंसा गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘केही समीक्षकले समीक्षाको बिउ जोगाए पनि त्यो अत्यन्तै कमजोर छ । लेख्ने कोही नभएका बेला प्रभावकारी/गुणस्तरीय समीक्षा लेख्ने दुस्साहस गर्नु नै यो किताबको महत्वपूर्ण र सुन्दर पक्ष हो ।’
चलचित्र निर्देशक नवीन सुब्बाले ‘इतर समीक्षा’ ले नेपाली ज्ञान निर्माणको क्षेत्रमा विगत दुई दशकको नेपाली साहित्यिक तथा सिनेमा क्षेत्रको चित्रण गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ फिल्म समीक्षा पनि सुरु गरेकामा लेखक सुशान्त धन्यवादका पात्र हुनुहुन्छ । सिनेमालाई बौद्धिक वृत्तले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन, तर कोसिस यो किताबले पक्कै गरेको छ ।’ सुब्बाले नेपाली समीक्षा लेखनले अभिव्यक्तिको भाषा निर्माण गर्न नसकेको अवस्थामा ‘इतर समीक्षा’ लाई एक उपलब्धि भएको बताउनुभयाे ।
समाजशास्त्री एवम् कम्प्युटर वैज्ञानिक डा. दोभान राईले ‘इतर समीक्षा’ मा अधिकांश समीक्षा पहिचानको दृष्टिकोणबाट लेखिएको उल्लेख गर्दै यसले नेपाली समाजको समीक्षा लेखनको सग्लो तस्बिर प्रस्तुत गरेको बताउनुभयाे ।
लेखक तथा विश्लेषक उज्ज्वल प्रसाईँले ‘इतर समीक्षा’ नेपाली साहित्यको अध्ययन अनुसन्धानका लागि अनिवार्य पढ्नुपर्ने पुस्तक भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो किताब नेपाली साहित्यमा समीक्षा विधाको दस्तावेज भएर रहनेछ । किताबले गुणस्तरीय समीक्षाको अभाव पनि पूर्ति गरेको छ र यो सानो सर्वेक्षणका रुपमा प्रकाशित भएको छ ।’
लेखक सुशान्तले आफू पुस्तक पढ्ने लोभले समीक्षक बन्न पुगेको बताउँदै ६५ वटा समीक्षा समेटिएको यस कृतिमा कवि विनोदविक्रम केसीको लामो निबन्धात्मक भूमिका समेटिएको जानकारी दिनुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 




