मेरिल्याण्ड । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले नेपाली भाषा, साहित्य, कला र सृजनात्मक शैलीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको कुरा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको एक कार्यक्रममा उजागर भएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा बस्दा पनि नेपाली भाषा र साहित्यको जगेर्नामा आफूहरू क्रियाशील रहेको बताउनुभएकाे थियाे ।
पूर्व अर्थमन्त्री तथा कवि शंकरप्रसाद कोइरालाले कार्यक्रममा विदेशमा बस्ने नेपालीहरूले भाषा, साहित्य र कलाप्रति देखाएको लगाव र सक्रियता प्रशंसनीय रहेको बताउँदै भन्नुभयो, “जे जस्ता कारणले भए पनि मातृभूमि छाडेर यहाँ आएपछि तपाईंहरूले भाषा, साहित्यको उत्थानमा खेल्नुभएको भूमिका र गर्नुभएको प्रयास प्रशंसनीय छ।” उहाँले नेपाली भाषा र साहित्यको उत्थानका लागि अझै धेरै प्रयत्नको आवश्यकता रहेको औँल्याउनुभयो।
मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले भावना र आत्मीयता भाषाको माध्यमबाट व्यक्त हुने भएकाले नेपाली भाषामा धेरै कृतिहरू लेखिनु सुखद भएको बताउँदै अमेरिकामा स्थानीय रूपमा स्थापित हुनका लागि गर्नु पर्ने प्रयत्न र दायित्वसहित भाषा र संस्कृतिको जगेर्नामा लाग्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।
अनेसास विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले प्रवासमा बस्दा पनि आफूहरूको हरेक पल नेपाली भाषा र साहित्यको क्षेत्रमा चिन्तन र मनन गरेर बित्ने गरेको बताउनुभयो। पत्रकार मधुकर अधिकारीले नेपाली भाषा र साहित्य क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो।
कार्यक्रममा अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष तथा नायिका पूजा चन्द, एञ्जल्स व्याण्डका राजु लामा, पत्रकार गौतम दाहाल, प्रा.डा कृष्ण विष्ट, भावना विष्ट, सहदेव कोइराला, मोहनजंग शाही, पारस श्रेष्ठ, एनआरएनका विष्णु बराललगायतले आफ्नो धारणा राख्नुभएकाे थियाे । गायक आशीष अविरल, गीतकार नवराज पन्त, हरिशरण कार्की, मृदुला कोइराला लगायतले गीत गाउनुभएकाे थियाे भने कवि एसपी कोइराला, ह्यारी भण्डारी र तीर्थराज पाण्डेयले कविता वाचन गर्नुभएकाे थियाे । कार्यक्रमले अमेरिकामा नेपाली भाषा, साहित्य र कलाको संरक्षण र प्रवर्द्धनमा नेपाली समुदायको सक्रियतालाई उजागर गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 









