म्याग्दी । बेनी नगरपालिका–१० वाखेतस्थित विद्योदय आधारभूत विद्यालयमा विद्यार्थीहरूको सिर्जनात्मकता र सुसूचितता अभिवृद्धि गर्ने उद्देश्यले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिका प्रकाशन सुरु भएको छ।
विद्योदय बाल क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा हातैले लेखिएको र चित्रण गरिएको यस पत्रिकाको प्रकाशनले विद्यार्थीहरूमा उत्साह थपेको छ।
पत्रिकाको बुधबार विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभएकाे थियाे । प्रधानाध्यापक अधिकारीले सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउन र विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्न यो पत्रिका प्रकाशन गरिएको बताउनुभयो। पोखराको माछापुच्छ्रे एफएमका पूर्व स्टेशन म्यानेजर तथा सारङ्गी न्युजका सम्पादक समेत रहनुभएका अधिकारीले विद्यार्थीहरूको पहिलो प्रयास उत्कृष्ट रहेको उल्लेख गर्दै आगामी अंकहरू अझ परिष्कृत र परिमार्जित हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालयले विशेष कार्यक्रम प्याकेज ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो।
विद्यालयका सूचना अधिकारी तथा शिक्षक अमृता जिसी रोकाको सहजीकरणमा तयार पारिएको यस पत्रिकाको सम्पादक सोफिया पाइजा र सह–सम्पादक रेविका रोका रहनुभएकाे छ । प्रअ अधिकारी संरक्षक र शिक्षिका जिसी रोका संयोजक रहनुभएको यस पत्रिकाले विद्यालयमा अध्ययनरत करिब ७५ जना बालबालिकाको प्रतिभा उजागर गर्न मद्दत गर्ने संयोजक जिसी रोकाको विश्वास छ। ड्रइङ पेपरमा हातैले लेखिएको यस पत्रिकाले विद्यार्थीहरूको लेखन तथा कलात्मक क्षमतालाई प्रस्फुटन गर्ने अपेक्षा गरिएको छ। यस पत्रिकाको निरन्तर प्रकाशनले विद्यालयको शैक्षिक वातावरणलाई थप उर्जाशील बनाउने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 




