लन्डन । लेखक अन्जु न्यौपानेको नयाँ उपन्यास ‘सेतो एप्रोन’ को विमोचन युनाइटेड किंगडममा सम्पन्न भएको छ।
युकेको प्रतिष्ठित खेल तथा सांस्कृतिक कार्यक्रम गोर्खा कपको अवसर पारेर मनोक्रान्ति संस्थाको युके शाखाले आयोजना गरेको विशेष कार्यक्रममा यस उपन्यासको लोकार्पण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि डा. योगी विकासानन्द र विशिष्ट अतिथि कमलेश्वरीले संयुक्त रुपमा ‘सेतो एप्रोन’ को विमोचन गर्नुभएकाे थियाे । न्यौपानेका यसअघि ‘मोड’ र ‘लुकेका वासना’ गरी दुई उपन्यास प्रकाशित भइसकेका छन्। उहाँको साहित्यिक यात्रा उल्लेखनीय रहेको छ, ‘सुदूरपश्चिमाञ्चल साहित्य समाज परिवार’ ले वि.सं. २०८० सालको ‘जसुदा साहित्य पुरस्कार’ बाट उहाँलाई सम्मानित समेत गरिसकेको छ।
लेखिका न्यौपानेका अनुसार, ‘सेतो एप्रोन’ उपन्यासले स्वास्थ्य क्षेत्रका विविध पक्षहरूलाई औपन्यासिक शैलीमा समेटेको छ। उपन्यासमा स्वास्थ्य क्षेत्रका राम्रा पक्षहरू र बेथितिहरू दुवैलाई समावेश गरिएको उहाँले बताउनुभएकाे छ । उहाँले यस उपन्यास मार्फत स्वास्थ्य क्षेत्रका यथार्थ चित्रण गर्न खोजेको बुझ्न सकिन्छ।
गोर्खा कप जस्तो महत्वपूर्ण कार्यक्रममा उपन्यासको विमोचन हुनुले यसको महत्त्वलाई थप उजागर गरेको छ। विमोचन कार्यक्रममा उपस्थित दर्शकहरूले पनि न्यौपानेको साहित्यिक प्रतिभाको प्रशंसा गर्नुभएकाे थियाे भने उपन्यासप्रति उत्सुकता व्यक्त गर्नुभएकाे थियाे । आगामी दिनमा यस उपन्यासले नेपाली साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ मंसिर २०८२, सोमबार 




