काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

‘वैश्विक परिप्रेक्ष्यमा भाषा, साहित्य, शिक्षा र संस्कृति: नेपाल (भारतको सन्दर्भमा)’ विषयक यस सम्मेलनको आयोजना पद्मकन्या क्याम्पसको नेपाली, हिन्दी, संस्कृत तथा पत्रकारिता विभाग र भारतको गुरु विद्यापीठको संयुक्त तत्वावधानमा भएको थियो।

सम्मेलनको उद्घाटन सत्र नेपाल र भारतको राष्ट्रिय गान गायन तथा दीप प्रज्वलनबाट सुरु भएकाे थियाे । पद्मकन्या क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटनमा गुरु विद्यापीठ, रोहतकका निर्देशक डा. विकास शर्मा मुख्य अतिथि हुनुहुन्थ्याे । विभिन्न विश्वविद्यालयका प्राध्यापक, विद्वान तथा पद्मकन्या स्ववियु सभापति भूपी ऐर विशिष्ट अतिथि हुनुहुन्थ्याे ।

श्री डिल्लीराम शर्मा सङ्ग्रौलाले स्वागत मन्तव्य राख्दै नेपाल र भारतको भाषिक तथा सांस्कृतिक एकतामा जोड दिनुभएकाे थियाे । प्रा.डा. सञ्जिता वर्मा र डा. लक्ष्मी जोशीले दुई देशबीचको सहयोग र एकअर्कालाई सम्मान गर्दै भाषा सिक्ने महत्वमा प्रकाश पार्नुभयाे । डा. बलदेव अधिकारीले सम्मेलनको विषयवस्तुको प्रशंसा गर्नुभयाे । मुख्य अतिथि डा. शर्माले नेपाल–भारतको ऐतिहासिक र भविष्यको सम्बन्धको चर्चा गर्नुभयाे ।

प्रा.डा. प्रधानले अध्यक्षीय मन्तव्यमा नेपाल र भारतको परम्परागत सम्बन्ध, सांस्कृतिक आदानप्रदान र जनता जनताबीचको बलियो सम्बन्धको उल्लेख गर्नुभयाे। उहाँलाई शिक्षा र अनुसन्धानमा योगदानकाे कदर गर्दै अपराजिता समूह र गुरु विद्यापीठले ‘वैश्विक मानवीय अवार्ड २०२५’ बाट सम्मानित गरेकाे छ ।

सम्मेलनमा ११ जना विद्वानले आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूका कार्यपत्रहरू वैश्विक परिवेशमा भाषा, साहित्य र संस्कृतिसँग सम्बन्धित थिए। प्रा.डा. नन्दीशप्रसाद अधिकारी र डा. नरेशकुमार सिहागले कार्यपत्रहरूको समीक्षा गर्नुभएकाे थियाे ।

समापन समारोहमा डा. भरत जङ्गम मुख्य अतिथि हुनुहुन्थ्याे भने पद्मश्री डा. महावीर गुड्डु विशिष्ट अतिथि रहनुभएकाे थियाे । साहित्य र अनुसन्धानमा योगदान पुर्‍याउने विद्वानहरूलाई ‘वैश्विक मानवीय अवार्ड २०२५’ बाट सम्मानित गरिएकाे थियाे । डा. जङ्गम र पद्मश्री गुड्डुले नेपाल–भारत सम्बन्ध, धार्मिक स्थल, पर्यटन र नृत्य कलाको बारेमा चर्चा गर्नुभएकाे थियाे । कार्यक्रममा हरियाणाको संस्कृति झल्काउने नृत्य र नेपाली गीतमा आधारित नृत्य प्रस्तुतिहरू पनि प्रस्तुत गरिएकाे थियाे । सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, पत्रकार, शोधार्थी र विद्यार्थीको उल्लेखनीय उपस्थिति थियो।