काठमाडौँ । स्वर्गीय ऋषिराज बरालको स्मृतिमा स्थापित ‘विश्व नेपाली ऋषि रंगमञ्च’ सम्मानबाट नाटककार, कवि तथा प्राज्ञ पुरु लम्साल सम्मानित हुनुभएको छ।

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा संगीतकार, अन्वेषक एवम् प्राज्ञ बुलु मुकारूङले लम्साललाई उक्त सम्मान प्रदान गर्नुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि मुकारूङले लम्सालको २५ वर्षभन्दा लामो साहित्य, नाटक र रंगमञ्च यात्राको प्रशंसा गर्दै उहाँलाई बहुआयामिक व्यक्तित्वको संज्ञा दिनुभयो। उहाँले लम्सालको नेपाली साहित्य, विशेषतः नाटक र रंगमञ्च क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो।

पूर्व निर्वाचन आयुक्त डा. रामभक्त ठाकुरले कार्यक्रममा बालकृष्ण समसँग आफ्नो नाटक यात्राको स्मरण गर्दै पुरु लम्सालको नाटकप्रतिको निरन्तर समर्पणको प्रशंसा गर्नुभयो। उहाँले लम्सालको कार्यशैली र योगदानले नेपाली नाटक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

प्राज्ञ लक्ष्मी उप्रेतीले लम्सालको जीवनी र साहित्यिक यात्राबारे प्रकाश पार्दै उहाँले युवा उमेरमै हासिल गरेको उपलब्धि र निरन्तरतालाई लोभलाग्दो र प्रेरणादायी भएको बताउनुभयो। उहाँले लम्सालको साहित्यिक यात्राले आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो।

यस सम्मानले नेपाली साहित्य र रंगमञ्च क्षेत्रमा लामो समयदेखि क्रियाशील लम्सालको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।