तेह्रथुम । कवि करिना थलङ याङनिमको कवितासङ्ग्रह ‘मिसुम’ को तेह्रथुमको आठराईमा लोकार्पण गरिएको छ।

आठराई गाउँपालिका खाम्लालुङ महिला कृषि सहकारीको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो। लोकार्पण कार्यक्रममा दिलकुमारी बुढाथोकी र दयासागर ढुङ्गेलले ‘मिसुम’ माथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आठराई गाउँपालिकाकाे उपाध्यक्ष वलिराज इङनाम प्रमुख अतिथि रहनुभएको थियो। उहाँसँगै कवि थलङकी आमा कमला फोम्बो, आठराई गाउँपालिका १ र २ का वडा अध्यक्षद्वय भीमकाजी लिम्बू र प्रेमराज फोम्बो, फेकोफन नगर अध्यक्ष गोपी ढुङ्गाना, र हाम्रो नेतृत्व हाम्रो अभियानका अध्यक्ष सनिसा भेटवाल लगायतको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

खाम्लालुङ महिला कृषि सहकारीकी कोषाध्यक्ष अमृता लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव सङ्गीता लिम्बूले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले कवि याङनिमको लेखन शैली र कृतिको विषयवस्तुको प्रशंसा गर्नुभएकाे थियाे ।