दिपेन्द्र आचार्य

इलाम । इलामको सूर्योदय नगरपालिकामा आगामी जेठ १५ र १६ गते अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ ।

सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा हुने यस सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित साहित्यकारहरूको सहभागिता रहनेछ। ‘साहित्य सङ्गीत संस्कार र संस्कृति हरियो पर्यटन सूर्योदयको आकृति’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनले नेपाली भाषा साहित्य, कला, संस्कृति र पर्यटनको संयुक्त प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

पत्रकार सम्मेलनमा नगरपालिकाले सम्मेलनको विस्तृत जानकारी गराएको छ। सम्मेलनको उद्घाटन जेठ १५ गते फिक्कल बजारमा प्रभातफेरीसहित गरिनेछ। यस दिन स्थानीय साहित्यकारहरूद्वारा कविता वाचन गरिनेछ भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव प्रसाद अधिकारीको उपस्थितिमा ‘दिगो विकासका लक्ष्यलाई स्थानीयकरण’ शीर्षकमा बहस कार्यक्रम पनि आयोजना हुनेछ।

जेठ १६ गते भारतको सिक्किम, दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका क्षेत्रका साथै नेपालका काठमाडौँ, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङका साहित्यकारहरूले कविता वाचन गर्ने कार्यक्रम तय भएको छ। यसै दिन साँझ गजल कार्यक्रम पनि आयोजना हुनेछ। त्यसै दिन ‘सूर्योदयको साहित्यको विकास र राष्ट्रिय साहित्य सम्बन्ध’ शीर्षकमा डा. अमर न्यौपाने, प्राज्ञ राजन मुकारुङ र साहित्यकार कुलप्रसाद ढकालबीच बहस हुनेछ, जसको सहजीकरण सुभाष राईले गर्नुहुनेछ।

नगर उपप्रमुख तथा नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान अध्यक्ष दुर्गाकुमार बरालले पश्चिमी संस्कृतिको प्रभावबाट नेपाली भाषा, संस्कार र संस्कृतिलाई जोगाउन यो सम्मेलन आयोजना गरिएको बताउनुभयो। नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दा साहित्य क्षेत्र ओझेलमा परेकोले यस किसिमको कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले छिमेकी भारतसँगको सांस्कृतिक र पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई सहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ भने भारतका साहित्यकार सविता संकल्प, नरेन्द्र गोर्खा, डिएल प्रधान, प्रविन खालिङ, डा. कमल तामाङ लगायतको पनि सहभागिता रहनेछ। पोयट आइडल विजेता सुकिता सिम्योन राईको विशेष प्रस्तुति समेत सम्मेलनको आकर्षण हुनेछ। नगरपालिकाले सम्मेलन सञ्चालनका लागि ६ लाख ५० हजार रुपियाँ विनियोजन गरेको छ।