काठमाडौँ । नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले आफ्नो आठौँ अधिवेशन सम्पन्न गरेको छ।
शनिबार प्राधिकरण प्रधान कार्यालय, दरबारमार्गस्थित सभाकक्षमा भएको कार्यक्रममा दुई जना साहित्यकारलाई सम्मान गरिएको थियो भने नयाँ कार्यसमिति पनि चयन गरिएकाे छ ।
कार्यक्रममा सेवा निवृत्त साहित्यकार भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई ‘अमरज्योति साहित्य सम्मान-२०८२’ प्रदान गरिएकाे थियाे । उहाँहरूलाई दोसल्ला र नगद राशिले सम्मानित गरिएको थियो। यसै अवसरमा अमरज्योति साहित्यिक त्रैमासिकको ६६ औँ अङ्क (२०८२, जेठ अङ्क) पनि लोकार्पण गरिएकाे थियाे ।
समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार प्रमोद प्रधान प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा प्रधानले सिर्जनशीलता सबै मानवमा निहित गुण भएको र यसको प्रस्फुरणले आनन्दानुभूति दिलाउने धारणा राख्नुभयाे । उहाँले नेपाल विद्युत प्राधिकरणले धेरै साहित्यिक प्रतिभाहरू जन्माएको उल्लेख गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता राष्ट्रियस्तरसम्म पुग्नु पर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा वसन्त काव्य गोष्ठी पनि आयोजना गरिएको थियो। गोष्ठीमा प्रमोद प्रधान, विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मन्जुश्री प्रधान लगायतका स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । सम्मानित साहित्यकार प्रसाईं र दाहालले पनि आफ्ना सिर्जना सुनाउनुभएकाे थियाे । अन्य धेरै कवि तथा साहित्यकारहरूले पनि रचना वाचन गर्नुभएकाे थियाे जसमा अच्युत प्रसाद पौडेल चिन्तन, रेणु अधिकारी मौनता, घनबहादुर थापा, थर्क बहादुर थापा, चिरन्तन विक्रम राणा, नारायण प्रसाद आचार्य, शारदा प्रसाद भट्टराई (वशिष्ठ बन्धु), कविता पोखरेल, सुभाष अधिकारी, शारदा भट्टराई पोखरेल, रीता चालिसे खनाल, आविष्कार कला, कृष्णदेव रिमाल ‘शब्दसेना’, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, बलराम पुडासैनी, अनिल पौडेल, मिमन पुलामी, कृष्ण मोहन जोशी, राजु शर्मा, रमेश तिमल्सिना ‘सागर’, शारदा पराजुली हुनुहुन्थ्याे ।
सभाध्यक्ष रिमालले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको स्मरण गर्दै भौतिक र भावात्मक बिजुली उत्पादनमा समाज क्रियाशील रहेको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
अधिवेशनले तीन वर्षे कार्यकालका लागि विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा शारदा पराजुली, सचिवमा युवराज शर्मा, सहसचिवमा भोलानाथ शर्मा र कोषाध्यक्षमा मुकुन्दप्रसाद प्रसाईं रहनुभएकाे छ । सदस्यहरूमा सङ्गीता पौडेल अधिकारी, बलराम पुडासैनी, रीता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र रामराजा ओझा हुनुहुन्छ ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र पूर्व अध्यक्षहरूलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण विष्णु आचार्यले र स्वागत मन्तव्य भोलानाथ शर्माले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




