पोखरा । प्रगतिशील साहित्यिक संस्था गण्डकी साहित्य सङ्गमले क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९६ औँ जयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।

जेठ १० गते शनिबार पोखरामा भएको कार्यक्रममा कवि जोशीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि विस्तृत चर्चा गरिएकाे थियाे । प्राज्ञ डा. कृष्णराज अधिकारी, रामराज रेग्मी, रघुनाथ अधिकारी, झलकपाणी तिवारी, कलाकार यादवचन्द्र भुर्तेल, डा. मुरारि पराजुली, आनन्दसुन्दर श्रेष्ठ, कृष्णप्रसाद बाँस्तोला, स्ट्रगल राना लगायतले जोशीको योगदानको स्मरण गर्नुभयो।

२०८१ सालको गण्डकी वाङ्मय पुरस्कारबाट कवि तथा लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरेकाे छ । पाँच दशकदेखि प्रगतिशील र देशभक्तिपूर्ण सिर्जनामा सक्रिय कोइरालालाई प्रतिभा छनौट समितिका संयोजक सुरज उपाध्यायले सम्मानित गर्नुभएको थियो। सम्मान ग्रहण गर्दै कोइराला विद्यार्थीकालदेखि नै सिर्जनामा लागेको र जनताको सुखदुःखलाई समेटेर सिर्जनात्मक यात्रा जारी राख्ने बताउनुभयो।

कार्यक्रममा गण्डकी साहित्य सङ्गमको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’को पूर्णाङ्क– २१ माथि निर्मल सापकोटाले टिप्पणी प्रस्तुत गर्नुभयो। ‘सङ्गम सांस्कृतिक मञ्च’का कलाकारहरूले गोकुल जोशीका गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे भने पूर्व सम्मानितहरू नुमराज बराल र चिन्तु गिरीले कविता वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रा.डा. यदुनन्दन उपाध्याय, गेहेन्द्रेश्वर कोइराला लगायत ६७ जना साहित्यकार र अक्षयकोषका संस्थापकहरूको उपस्थिति रहेको थियो। उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता भीम रानाभाट र सञ्चालन सचिव नारायण मरासिनीले गर्नुभएको थियो।