काठमाडौँ । शिक्षाविद् तथा साहित्यकार डा. सदानन्द कडेलका दुई कृति, ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ र ‘झुल्को आँखामा’, शनिबार राजधानीमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएका छन् ।

नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. वासुदेव त्रिपाठी, केदारभक्त माथेमा, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. मनप्रसाद वाग्ले, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, प्रा.डा. अन्जना भट्टराई, र प्रा.डा. बालचन्द्र लुइटेल लगायतले कृति लोकार्पण गर्नुभएकाे थियाे ।

‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ जीवनी बिम्ब हो भने ‘झुल्को आँखामा’ गीतसङ्ग्रह । लोकार्पण पश्चात् विभिन्न वक्ताहरूले आ-आफ्ना धारणा राख्नुभएकाे थियाे । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेश शर्माले देशको शिक्षा प्रणालीमा देखिएका चुनौतीहरू र आफ्नो अनुभव साझा गर्दै देश निर्माणमा आफ्नो योगदानलाई पुनर्मूल्याङ्कन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयाे । उहाँले विदेशमा अध्ययन तथा अनुसन्धान गर्नुपरेको आफ्नो बाध्यता र देशमा आवश्यक उपकरण तथा प्रविधिको अभावले गर्दा अनुसन्धान कार्यमा कठिनाइ भोग्नुपरेको स्मरण गर्नुभयाे ।

त्रिवि का पूर्वउपकुलपति एवं पूर्वराजदूत केदारभक्त माथेमाले सामुदायिक विद्यालय र शिक्षा प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उच्च शिक्षामा राजनीतिकरण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयाे । प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले विदेशिने संस्कृतिको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नेपाली भाषा र शिक्षाको विश्वस्तरीय विकासको आवश्यकता औँल्याउनुभयाे । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले शिक्षा र साहित्यको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै आशावादी चेतना जगाउन आग्रह गर्नुभयाे ।

प्रा.डा. बालचन्द्र लुइटेलले ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ लाई अनुसन्धानमूलक जीवनी भएको र उच्च शिक्षाको आधुनिकीकरणको विषय समेटिएको उल्लेख गर्दै अनुसन्धानकर्ताहरूका लागि उपयोगी पुस्तक भएको बताउनुभयाे । प्रा.डा. अन्जना भट्टराईले ‘झुल्को आँखामा’ मा आमा, थातथलो, महिलाका पीडा, प्रेम आदि विषय समेटिएका ६० वटा गीत रहेको जानकारी दिनुभयाे ।

डा. कडेलले आफ्ना रचनाहरू र सिर्जना प्रक्रियाबारे आफ्नो अनुभव सुनाउनुभयाे भने कार्यक्रमका अध्यक्ष रोदनले शैक्षिक क्षेत्रका धेरै महत्वपूर्ण पक्षहरू यस जीवनी बिम्बले उजागर गरेको र यस प्रकारको जीवनी प्रकाशन हुनु गौरवको विषय भएको बताउनुभयाे । नेपाल स्रष्टा समाजले ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ प्रकाशन गरेको हो भने ‘झुल्को आँखामा’ इन्दिरा लामिछाने उपाध्यायले प्रकाशन गर्नुभएकाे हाे । कार्यक्रममा समाजकी कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने महासचिव देविका तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।